काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारले विरोध र विवादका बीच एमसीसी संसदमा पेस गरेको बताएका छन् ।
प्रचण्डले संसदमा अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव पेश भएपछि आफ्नो बचाउ गरेका छन् । उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै एमसीसी संसदमा लैजानुअघि नै माओवादी केन्द्रले विपक्षमा उभिने निणर्य गरिसकेको जिकिर गरेका छन् । आइतबार अपाह्न सामाजिक सञ्जाल फेसबुकमार्फत उनले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने पनि बताएका छन् । एसमसीसीको विरोधमा उत्रिएका नेता-कार्यकर्तामाथि भएको ‘प्रहरी दमन’ को विरोध समेत गरेका छन् । साथै, घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।
‘एमसीसी टेबुल गर्नु हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, उनले लेखेका छन् । यसअघि विरोधमा रहेको माओवादी केन्द्र आइतवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी संसदमा लैजान तयार भएको थियो।
संसदमा पनि माओवादी केन्द्रका सांसदहरु कृष्णबहादुर महरा र बिना मगरहरु विरोधमा उत्रिएका थिए। तर अध्यक्ष प्रचण्ड आफैं भने आसनमै रहेर मौन बसेका थिए । संसद बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले संशोधन बिना एमसीसी अघि बढाउन नसकिने भन्दै आफूहरुको मत विपक्षमै रहेको प्रष्टीकरण दिएका थिए ।