बाँकेको कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर चौराहमा आइतबार राति ट्रक पल्टिँदा च्यापिएर डियुटीमा खटिएकी एक प्रहरी कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी चौकी खडैँचा दरबन्दी भइ हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बिसी रहेकी छन् ।
शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टिँदा बिसी च्यापिएकी थिइन् ।
घाइते भएकी बिसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराति १० बजे भएको सवारी दुर्घटनालगत्तै फरार भएका ट्रकचालकको खोजी भइरहेको छ ।