सरकारले छिमेकीसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरू भारत, चीनसहित अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो ।
बैठकले एमसिसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरू, प्रमुख प्रतिपक्ष दललगायतका अन्य राजनीतिक दलहरू, सभामुख र सांसदहरूलाई धन्यबाद दिएको छ ।
यस्तै, एमसिसी अनुमोदनको क्रममा प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाई, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा सरकारले धन्यवाद दिएको छ ।
नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्र राष्ट्रहरू, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूप्रति सरकारले आभार व्यक्त गरेको छ ।
↑