— प्रीति रमण
‘राजनीतिक दल परिवर्तन गर्न पाइन्छ भने धर्मपरिवर्तन गर्न किन नपाइने’ यो भनाई एक जना सचेत नेपाली नागरिकको हो । धर्म परिवर्तन किन गर्नु भयो भन्ने मेरो प्रश्नको जवाफमा यस्तो सुनियो । सुन्दा सही लाग्छ तर यसको परिणाम कस्तो होला ? कल्पना गर्न पनि सकिदैन । देशमा गणतन्त्रसँगै संविधानले धर्म निरपेक्षताका बाटो अवलम्बन गरेको छ । राजनीतिक स्वतन्त्रतासँगै धार्मिक स्वतन्त्रता पनि स्वाभाविक हो । तर धार्मिक स्वतन्त्रताले देशको संस्कृति निशानामा पर्ने बलियो सम्भावना बिकसित हुँदै गएको देखिन्छ । राजनीतिमा धर्मको कुनै स्थान नहुनुपर्ने हो । तर धर्मले राजनीतिलाई प्रभावित पार्दै गरेको देखिन्छ । छिमेकी देश भारतमा धर्मको आडमा सत्ता राजनीति प्रभावित छ । त्यसको प्रभाव खुल्ला सीमाना भएका कारण नेपालमा पनि पर्ने नै भयो ।
संसारका विकसित देशहरुमा पनि धर्मले राजनीतिलाई सञ्चालन गरिरहेको जस्तो देखिन्छ । अल्पविकसित देशहरुको समस्या धर्ममै गिजोलिएको अवस्थामा विकसित देशहरु समेत धर्मप्रचारलाई राजनीतिको मुख्य लक्ष्य बनाउन थालेपछि संसारलाई धर्मले प्रभाव पार्न थालेको स्पष्ट हुन्छ । अफगानिस्तानलाई धर्म र संस्कृतिले नै अमेरिकी शासनबाट मुक्त ग¥यो । अफगानी नागरिकको धर्म र संस्कृति रोजाईका सामू अमेरिकाको २० बर्षे शासन कामयाब भएन । ठूलो आर्थिक लगानी र जबर्जस्त सैनिक दमनका बावजूड पनि अफगानी जनताको धर्म र संस्कृति प्रतिको आस्थामाथि कुनै प्रभाव परेन । त्यसैका कारणबाट अमेरिका अफगानिस्तानबाट बाहिरिनुपरेको ताजा घटना हाम्रा सामू छ । धर्म र संस्कृति जनताको सबैभन्दा प्यारो हुन्छ भन्ने उदाहरण यो काफी छ ।
नेपालमा धर्म परिवर्तन भइरहेको थियो । तर खुल्ला रुपमा धर्म परिवर्तन हुन पाएको थिएन । गणतन्त्र आइसकेपछि र संविधानमा धर्म निरपेक्ष लेखिएपछि धर्म परिवर्तनले लहर ल्याएको छ । खास गरी सनातन हिन्दू धर्म परित्याग गर्दै क्रिश्चियन धर्म अवलम्बन गर्ने लहर चलेको छ । यस कार्यमा पश्चिमा मुलुकहरु र युरोपियन युनियनका मुलुकहरु विशेष रुपमा सकृय देखिएका छन् । हिन्दू धर्मलाई कमजोर बनाउने अभियानले पश्चिमा मुलुकहरुलाई के फाइदा हुने हो भन्ने कुरा निक्कै महत्वपूर्ण हो । फाइदा नहुने भए धर्म परिवर्तनलाई अभियानको रुपमा किन लिइएको छ ?
विकसित देशहरु नै धर्मबाट प्रभावित हुने कारणले धर्म नै राजनीतिमा संकट सृजना गर्ने माध्यम बनिरहेको स्पष्ट हुँदैछ । अरु धर्महरुलाई समाप्त गर्दै विकिसित देशहरुले मान्ने धर्मलाई स्थापित गर्न प्रयास भइरहेको महसुस हुन थालेको छ । संसारका धेरै देशहरुमा भइरहेका हिसांत्मक गतिविधिहरु धर्मकै कारणले भएका देखिन्छन् ।
धर्मनिरपेक्ष मुलुकमा अल्पसंख्यक धर्मावलम्बीहरुको संरक्षण हुनु पर्ने हो । तर त्यसो भएको पाइदैन । नेपालमा हिन्दू धर्म मान्नेहरुको संख्या अत्यधिक छ । तर हिन्दू धर्म मान्नेहरुले अन्य धर्मावलम्बीहरुमाथि कुनै किसिमको दुव्र्यवहार गरेको पाइँदैन । छिटपूmट रुपमा घटनाहरु हुन खोजेपनि त्यस्ता घटनाहरु तत्कालै साम्य भएका पाइन्छन् । यसैबाट स्पष्ट हुन्छ नेपालमा धार्मिक सद्भाव छ । धार्मिक सद्भावकै कारणबाट धार्मिक हिंसा भएको पाइँदैन ।
नेपालसँग निकट रहेका भारत, बंगलादेश र पाकिस्तानमा धार्मिक हिंसाहरु भइरहेका पाइन्छन् । भारतमा हिन्दूहरुको बाहुल्यता भएकाले त्यहाँ अन्य धर्म मान्नेहरु, खासगरी मुश्लिमहरुमाथि भेदभाव देखिन्छ । त्यसैगरी १६ करोड ५० लाखभन्दा धेरै जनसंख्या रहेको बंगलादेशमा हिन्दूहरुको संख्या केवल नौ प्रतिसत मात्र छ । धार्मिक अल्पसंख्यकहरुमाथि बंगलादेशमा पनि आक्रमण हुने गरेका छन्, भारतमा गैरहिन्दूहरुमाथि भए भंैm बंगलादेशमा हिन्दूहरु माथि आक्रमण हुने गरेका छन् । त्यसैगरी पाकिस्तानमा पनि हिन्दूहरु माथि आक्रमण हुने गतिविधि प्रभावित भएको पाइन्छ । तर, पाकिस्तानमा हिन्दूहरुको संख्या निक्कै कम भएकाले हिन्दूहरु माथि खासै आक्रमण भएका घटनाहरु सुन्न पाइँदैन ।
गणतन्त्र स्थापना भएको १५ बर्ष पूरा भईसक्दा पनि धर्म निरपेक्षताको गलत प्रभाव नेपालमा परिरहेको छ । यस आलेखको शीर्ष पंक्तिमा उठाइएको प्रश्नले धर्म परिवर्तनलाई धार्मिक स्वतन्त्रताको ठाउँमा पनि हेर्न सकिन्छ । तर धर्म परिवर्तनको लागि शाक्तिशाली देशका शासकहरु नेपाल जस्तो सानो मुलुकमा किन आकर्षित भइरहेका होलान् भन्ने महत्वपूर्ण सवाल हो । नेपालका हिमाली जिल्लामा प्रत्येक घरहरुमा कृश्चियनहरुका झण्डा फहराएका देखिन्छन् । हिमाली भू—भाग सबैभन्दा पिछडिएको क्षेत्र हो । यो क्षेत्रका जनतामा अशिक्षा र अभाव व्याप्त छ । यसैलाई धर्म परिवर्तनको आधार बनाउन पश्चिमाहरुलाई बलियो हतियार बन्न पुगेको छ । तर धर्म परिवर्तन पछि के प्राप्त भयो भन्ने बारे जनतालाई सोध्ने हो भने जनताको जवाफ निराशाजनक नै पाइन्छ ।
धर्म परिवर्तनले जनतामा पनि सन्तुष्टि छैन भन्ने कुरा स्पष्ट । कुनै पनि धर्मले जनताका समस्या समाधान गर्न सक्ने कुरा हुँदैन । धर्म समस्या समाधानको माध्यम होइन । यो विषयले जनतामा किन प्रभाव जमाउन सकेन् ? राजनीतिक दलका नेताहरुले यो विषयमा गम्भिरतापूर्वक सोच्न र तदनुकूल धर्म र संस्कृतिको रक्षाको निम्ति ठोस उपाय अवलम्बन गर्न जरुरी छ ।-जनधारणा साप्ताहिकबाट