काठमाडौं । प्रहरीले पल शाह प्रकरणमा पीडित भनिएकी बालिकाबारे अश्लिल सामग्री प्रसारण गरेको आरोपमा एक युट्यूवर पक्राउ गरेको छ ।
‘सेलेब नेपाल’ नामक युट्यूब च्यानलका सञ्चालक गुल्मी भनभने ९ स्थायी घर भइ हाल बुटवल १३ रुपन्देही बस्दै आएका २१ वर्षीय राहुल थापालाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।
उक्त युट्यूब च्यानलले पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्य राखी भ्रामक समाचार सम्प्रेषण गरेको खुलेको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालको भनाई छ ।
थापाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको प्रहरीको भनाई छ । हिजो पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान थालिएको हो ।
त्यस्तै, पीडित नाबालिग गायिकाबारे अश्लिल तस्बिरसहित स्टाटस लेखेको आरोपमा ब्यूरोले ललितपुर महानगरपालिका(२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरिसकेको छ ।
पल शाहको बलात्कार प्रकरणमा पीडित भनिएकी बालिकाबारे अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्नेलाई ब्यूरोले खोजिरहेको जनाएको छ ।