विनोद अधिकारी । साझा न्यूज
तौलिहवा । नव वर्ष २०७९ को अवसरमा पुर्व राजदुत तथा पुर्व मन्त्री दीपकुमार उपाध्यायले आफ्नो गृह गाउं वाणगंगा नगरपालिका वडा नं. ११ को हथौसामा आफ्ना माता योग कुमारी उपाध्याय र पिता गोपाल प्रसाद उपाध्यायको अर्धकदको शालिक स्थापना गर्नु भएको छ ।
हथौसाको भड्सरवा गाउंमा पुर्वमन्त्री उपाध्यायले यस अघि निर्माण गर्नु भएको शिव पन्चायतन मन्दिर परिसरमा करीब साढे सात लाख रुपैया लागतमा सो शालिक निर्माण गरी अनावरण गर्नु भएको हो ।
माता पिता देवता हुन् यिनलाई बाचुन्जेल राम्रो सेवा गर्नु पर्ने र देहान्त पश्चात् पनि उनको संझना गरि रहनु पर्ने सन्देश प्रवाह गर्दै आफुले यो शालिकको निर्माण गरेको पुर्व मन्त्री उपाध्यायले बताउनु भयो ।
माता पिताको संरक्षण, योगदान र सहयोगबाटै आज हामी सवै सफल हुने गरेको स्मरण गर्दै पुर्व मन्त्री उपाध्यायले नव वर्ष २०७९ ले सम्पूर्ण माता पिताहरुले आफ्ना सन्ततिहरुबाट उचित सेवा सुसार पाउन् भन्ने कामना समेत आफुले गरेको बताउनु भयो ।
सो अवसरमा पुर्व मन्त्री उपाध्यायले सम्पूर्णमा सुख, शान्ति र समृद्धिको लागि कामना समेत गर्नु भएको छ ।