सिरहा । सिरहामा सञ्चालित एसइई अन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोबाइल प्रयोगगरी परीक्षा अमर्यादित गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो ।
सञ्चारकर्मीसहित जिल्ला अधिकारी र सुरक्षा निकायका टोलीले अनुगमन गर्ने क्रममा परीक्षार्थीहरुले अमर्यादित गतिविधि गरेको पाइएकोले निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जनाए । परीक्षालाई मर्यादाविपरीत कार्यगरेको भन्दै बस्तिपुर मावि लहान १३ केन्द्रबाट ३५, माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरीया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ जना विद्यार्थी निस्काशन गरेको प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।
जिल्ला अधिकारी कवाडीका अनुसार परीक्षार्थीले मोबाइल ह्वाट्सएप, फोटोकपी र चिट प्रयोग गरेकाले उनीहरुलाई आजको परीक्षाबाट निस्काशन गरेको जनाए । परीक्षाको मर्यादा कायम गर्न नसकेकाले तीनैवटै विद्यालका केन्द्राअध्यक्षहरु भोलिबाट परीवर्तन गरिने समेत कवाडीले जानकारी दिए । उनीहरुलाई आजको परीक्षाबाट मात्र निस्काशन गरिएको हो ।
यता माध्यमिक विद्यालय लहान २० हनुमाननगर ब्रम्हानगोर्छारीका केन्द्राध्याक्ष राजेन्द्र प्रसाद यादवले परीक्षामा सुरक्षाकर्मीहरुले नै चिट पुर्याउने कार्य गरेर परीक्षालाई अमर्यादिन बनाएको आरोप लगाए । उनले भने, ‘एक जना प्रहरीबाट हामीले चिट खोसेर त्यहाँ कार्यरत कमाण्डरलाई चिट बुझायौं, तर त्यसको केहीवेरमै फेरि चिट कक्षाकोठामा पुग्यो।’ उनले हामीले परीक्षा मर्यादित बनाउन खोज्दा खोज्दै पनि सुरक्षाकर्मीकै असहयोगले यस्तो भएको हो ।
वस्तिपुर मावि परीक्षा केन्द्रमा देव आइडल आवासीय विद्यालय लहान, लिटिलस्टार आवासीय विद्यालय, न्यू मनकामना आवासीय विद्यालय, सगरमाथा माध्यमिक विद्यालय र राजाजी माविका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
त्यसैगरी, गोलबजार नपा ३ जमदहस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पनि व्यापक फोटोकपी प्रयोग गरेर चिठ बनेको पाइएको छ । यस परीक्षा केन्द्रबाट परीक्षा सुरुभएको ३० मिनटभित्रै प्रश्नपत्र बाहिरिएको बताइएको छ। यस सम्बन्धमा छानबिन गरिने सम्बन्धित निकायले जनाएको छ ।
यस केन्द्रमा धनगढीमाई नपा १० का सुनगाभा आवासीय मावि, नमुना प्राविधिक मावि गोलबजार, जेम्स अंग्रेजी बोर्डिङ स्कुल, शुभ श्री आवासीय मावि र आइजेभिएम आवासीय माविको परीक्षा केन्द्र रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले विद्यार्थी निस्काशन भएको र केन्द्राध्याक्ष परिवर्तनबारे प्रमुख जिल्ला अधिकारीबाट जानकारीसहितको निर्देशन आएको जनाएको छ । यसवर्ष जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना छात्रछात्रा एसइई परीक्षामा सहभागी भएका छन् ।
















































