संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको टोलीले १२ किलोमिटर सडक निर्माण गरेको छ।
नेपाली सेनाको श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लामो कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको हो।
गत माघ १३ गतेबाट प्रारम्भ भएको सडक निर्माण कार्य वैशाख ७ गते समापन गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ। रासस