काठमाडौं । पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरेको छ ।
मंगलबार साँझ प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गरी जिताउन आग्रह गरेका हुन् ।
गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन सबैलाई अपिल गर्दछौँ ।’
केही पालिकामा गठबन्धनबीच नै ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ भएको भन्दै विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
‘गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’