काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउँदै कांग्रेस सधैं जनता र न्यायको पक्षमा रहने बताएका छन्। उनले जति हार व्यहोरे पनि देश बचाउने काममा कांग्रेस अग्रसर रहने बताए ।
स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई बुधबार प्रशिक्षण दिने क्रममा अध्यक्ष प्रचण्डले कांग्रेसमा दम्भ र अहंकार चुलिएको आरोप लगाएका थिए । उनले विगतमा अहंकारकै कारण एमालेलाई ठेगान लगाएको भन्दै कांग्रेसलाई पनि ठेगान लगाउने अवस्था नआओस् भनी चेतावनी दिएका थिए ।
त्यसको जवाफमा पौडेलले भनेका छन्, इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं । तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भए पनि नेपाली कांग्रेसले धोका दिएको माओवादी नेताहरुले आरोप लगाउँदै आएका छन् ।