साझा न्यूज । तौलिहवा
सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही संग नम्रपूर्वक व्यवहार गर्न प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सवै सरकारी कार्यालयका कर्मचारीहरुलाई आग्रह गरेका छन् । वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक नै सार्वभौम भएका कारण नागरिकहरुलाई सहज ढंगबाट सेवा प्रवाह गर्नु हरेक राष्ट्सेवक कर्मचारीको दायित्व रहेको साझान्यूज संग उनले बताए ।
जिल्ला प्रशासन कार्यालय भित्रै सेवाग्राहीहरुसंग मैत्रीपूर्ण नम्र व्यवहार नभएको गुनासो आफुले पाएको पनि उनले बताए । त्यस सम्वन्धमा आफ्ना सवै कर्मचारीहरुलाई मुस्कान सहितको सेवा प्रवाहका लागि आफुले आग्रह गरिसकेको छु, उनले भने ।
सेवाग्राहीहरु कहिलेकांही आवेशमा आउन सक्छन्, आक्रोशित हुन्छन्, प्रजिअ मिश्राले भने, “राष्ट््सेवक कर्मचारीहरुले सेवाग्राहीको त्यो आक्रोशलाई नम्रपूर्वक शान्त गर्न सक्नु पर्छ । यसका लागि सरल, सहज र मुस्कान सहितको सेवा प्रवाह नै उत्तम उपाय हो ।”
जिल्लामा सुशासन र भष्टचारका विषयमा आफ्नो शुन्य सहनशीलता रहेको पनि उनले बताए । कहि कतै सेवाप्रवाहमा कसैले घुस माग्ने, दुख दिने लगायतका काम गरे सोझै आफुलाई सम्पर्क गर्न प्रजिअ मिश्राले आम नागरिकहरुमा आग्रह गरेका छन् ।