साझा न्यूज । तौलिहवा
कर्मचारीहरु कार्यालय पुगी सके पछि कपिलवस्तु नगरपालिकाले विदाको निर्णय सार्वजनिक गरेको छ । नाग पंचमीको अवसरमा स्थानीय तह मातहतका कार्यालय, स्वास्थ्य केन्द्र, शिक्षण संस्था तथा अन्य कार्यालयहरुमा विदा दिन नगरपालिकाले ढिलो निर्णय गरेको छ । कार्यालयमा कर्मचारीहरु पुगी सके पछि मात्रै विदाको निर्णय सार्वजनिक गरे पछि कार्यालय पुगेका कर्मचारीहरु नगरपालिकाको कार्यालयसंग रुष्ट भई घर फर्केका छन् ।
जिल्लामा महाराजगंज नगरपालिका, मायादेवी गाउंपालिका र कृष्णनगर नगरपालिकाले अघिल्लो दिन सोमवार नै सार्वजनिक विदाको निर्णय गरी सार्वजनिक गरेका थिए । कपिलवस्तु नगरपालिकाले भने मंगलवार विहान सवा दश बजे मात्रै स्थानीय पालिकामा सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाको यस्तो ढिलो निर्णय प्रति विभिन्न कर्मचारी तथा सर्वसाधारणहरुले सामाजिक संजाल मार्फत् विरोध जनाई रहेका छन् । जिल्लाको सदरमुकामकै नगरपालिकाले यस्तो कच्चा काम गर्नु आफैमा लज्जास्पद काम भएको उनीहरुले बताएका छन् ।