अविरल बर्षासंगै आएको बाढीले कपिलवस्तुमा दुई जनालाई बगाएको छ ।
जिल्लाको बाणगंगा नगरपालिकाको कोइली नदीले एक दम्पत्तीलाई मंगलबार बगाएको हो ।बाणगंगा– ७ निवासी उनीहरु बीर बहादुर सुनार र लक्ष्मी सुनार रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको जनाइएको छ ।
उनीहरुसंगै नदी तर्न लागेका छोरालाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् ।नदीमा बगेका दुबै जनाको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।बाणगंगा नगरपालिकाको वडा नं. ९ पुग्ने कोइली नदी हरेक बर्ष मानिसको तगारो बन्दै आएको छ । नदीमा पूल नहुँदा काइलीले सधैं धनजनको क्षति गर्दै आएको छ ।
दुई बर्ष पहिला यहीँ नदीले बगाउँदा तीन जनाको ज्यान गएको थियो भने तीन जना हाम फालेर बाँच्न सफल भएका थिए ।