कावासोती (नवलपुर), असार २७ गते । पूर्वी नवलपरासीको देवचुली– १०, पृथ्वीनगरमा सिँचाइका लागि डिप बोरिङ परियोजना लागु गरिएको छ। अन्न तथा तरकारी बाली उत्पादनका लागि देवचुली नगरपालिकाको ६० बिघा जग्गामा सिँचाइ सुविधा पु-याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ। नदी सिँचाइ प्रणालीले नछोएका र आकासेपानीको भरमा खेती गरिरहेका देवचुली नगरपालिका वडा नं. १० र ११ मा यसै वर्षदेखि परियोजना लागु भएको हो।
भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिद्वारा डिप बोरिङ निर्माण गर्न लागिएको हो। आयोजनाका अध्यक्ष दलबहादुर थापाले जलुके घुमाउरे डिप ट्युबवेल जलउपभोक्ता समिति अन्तर्गत सुरु भएको बोरिङका लागि हाल २५ लाख रुपियाँ रकम प्राप्त भएको र यसको समापन हुँदासम्म करिब एक करोडभन्दा बढी लागत लाग्ने जानकारी दिनुभयो।
नगर प्रमुख हरिप्रसाद न्यौपानेले भन्नुभयो, “नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पु¥याएर कृषिको उत्पादकत्व बढाउन योगदान पु¥याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो।” डिप बोरिङ निर्माणपश्चात् ६० बिघा क्षेत्रफलको सिँचाइमा सहज हुने बताउनुभयो। भूमिगत पानीको सही सदुपयोग गरी कृषि उत्पादन वृद्धि गर्नका लागि लाग्नुपर्ने उहाँले बताउनुभयो। बोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेतीको तयारी गर्नसमेत आग्रह गर्नुभयो। बोरिङको पूर्वाधार विस्तारका लागि नगरपालिकाले सहकार्य गर्नेसमेत उहाँले बताउनुभयो।
चालु आर्थिक वर्षमा देवचुलीमा नगरका पाँच वटा समूहले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेशमा माग गरेको भए पनि दुई वटा बोरिङको सम्झौता गरिएको नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो। अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पु¥याइने उहाँले जानकारी दिनुभयो। आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ। डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा वृद्धि हुने विश्वास रहेको देवचुली १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताउनुभयो।