हुम्ला, असार २७ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार हुन थालेको छ । श्रीनगरलाई खानेपानी आपूर्ती हुँदै आएको खोलाको मुहानमा वर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दा श्रीनगरमा समस्या देखिएको हो ।
श्रीनगरका स्थायी बासिन्दा चित्र भण्डारीले जिल्ला कै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्र श्रीनगरमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभयो । उहाँले सार्वजनिक धारामा आधा घण्टा मात्र पानी आउने भएको कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाईनमा राख्नु परि रहेको बताउनुभयो ।
खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको कामै लाईनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागेपनि लाईनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो । पानी भर्नकै लागि उपभोक्ताहरुले राती एक दुई बजे उठेर ग्यालेन लाईनमा राख्नुपर्ने बाध्यता छ ।
मानिसका लागि मात्र नभएर पशुबस्तु समेत सोही धाराबाट पानी पिउने गर्छन् । अर्की स्थानीय जानकी फडेराले पानीको समस्याको कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । चार जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहेका छन् । उहाँले बर्खा लागेपनि मुहानमा पानीको समस्या भएको कारण यस वर्ष बढी नै खानेपानीको समस्या भोग्नु परि रहेको बताउनुभयो ।
हाल श्रीनगरसम्म सडक निर्माण भएको कारण कर्णाली करिडोरको गल्फागार्ड खोबाट समेत ग्यालेनमा पानी भरेर ओसार्ने गरिएको छ । पाँच सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धाराहरु रहेका छन् । त्यसैबाट सवै पानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा रहेको छ ।
अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने लिएको भएपनि त्यसले पूर्णता पाउने कुरामा उपभोक्ता आशावादि देखिनुभएको छ । हाल श्रीनगरका लागि ल्याईएको खानेपानी पनि अर्को वडाको श्रोत रहेको छ । जसले गर्दा दुई वडाकाबीच बेला बेला विवाद समेत हुने गरेको छ ।