नेपालगन्ज, साउन १० गते । बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तिव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलोगरी प्राप्त भएको खोपलाई तिव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका फोकलपर्सन कमल चन्दका अनुसार जिल्लाका सबै पालिकाका पशु चौपायामा लम्पी स्किनको महामारी बढ्दै गएकाले सबै पालिकामा भ्याक्सिन लगाउने कार्यलाई तिव्र पारिएको छ ।
उहाँले महामारी नियन्त्रण तथा बिरामी परेका पशु चौपायाको उपचारलाई प्राथमिकता दिएर गरिरहेको जनाउँदै हालसम्म जिल्लामा चार हजारभन्दा बढी पशु चौपायालाई भ्याक्सिन लगाइसकिएको बताउनुभयो ।
फोकलपर्सन चन्दले भ्याक्सिन लगाउने कार्य तिव्र गतिमा चलिरहेकाले छिटोभन्दा छिटो सबै पशु चौपायालाई भ्याक्सिन लगाइने जनाउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसरा खजुरा, जानकी, बैजनाथ र कोहलपुरमा सबैभन्दा बढी पशु चौपाया उक्त महामारीबाट प्रभावित भएका छन् ।
नरैनापुर, राप्तीसोनारी, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरमा पनि सो रोग फैलिनेक्रम बढ्दैगएको पाइएको छ । जिल्लामा रहेका करिब एक लाख भैँसी र ६० हजारको हाराहारीमा रहेका गाईलाई सो महामारीबाट जोगाउन ठूलो चुनौती देखिएको छ ।
हालसम्म जिल्लामा ३७ हजारभन्दा बढी पशुचौपाया लम्पी स्किनको महामारीबाट बिरामी भएको र २०० भन्दा बढीको मृत्यु भइसकेको तथ्याङ्क संकलन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ । तथ्यांक संकलन गर्ने कार्य अझै पनि जारी रहेकाले प्रभावित र मृत्युको संख्या बढ्ने जनाइएको छ ।