प्यूठान, साउन १५ गते । जिल्लामा पर्याप्त मात्रामा उत्पादन नहुँदा स्थानीयले चाडवाड, पूजापाठ र आवश्यक समयमा दुध–दही नपाउने समस्या रहेको छ । जिल्लामा दुधको व्यापार गर्न खोलिएका डेरीले माग भएजती दुध बेच्न पाएका छैनन् भने उपभोक्ताले चाहेजति दुधदही पाउन सकेका छैनन् ।
अहिले बजारमा दुधको माग बढी भएको शिवालय दुग्ध सहकारी संस्था लिमिटेडका भोजबहादुर बस्नेतले बताउनुभयो । ‘हाम्रो सहकारीबाट अहिले बढीमा दैनिक तीनसय लिटरसम्म दुध उत्पादन गरी बिक्री हुँदैआएको छ,’ उहाँले भन्नुभयो, ‘सुख्खा सयमा १ सय लिटर मात्र उत्पादन हुनेगरेको छ ।’
जिल्लामा दुधको अभाव भए पनि अन्य सिजनमा डेरी पसलले दुध नलिने समस्या रहेको उहाँको भनाइ छ । जिल्ला सदरमुकाम खलंगा, बाग्दुला, विजुवार, जुम्रीलगायत क्षेत्रमा सञ्चालन भएका डेरी उद्योगले जिल्ला बाहिरबाट दुध ल्याएर बिक्री गर्नेगरेका छन् ।
उनीहरुले दाङ, कपिलबस्तुलगायत ठाउँबाट दुध ल्याएर विक्री गर्नेगरेको बताउँछन् । ‘सदरमुकाम खलंगामा आवश्यक दुध पाइदैन’ स्थानीय जुमानसिंह के.सी.ले भन्नुभयो, ‘पर्याप्त उत्पादन नहुँदा यो समस्या भएको हो ।’ गाउ“मा भैसी पाल्ने किसान कम हुनु र जिल्लामै व्यवसायी दुध उत्पादनका लागि गाई, भैसीको फर्म धेरै नभएकाले समेत उत्पादन कम भएको उहाँको भनाइ छ ।
जिल्लामा वार्षिक १८ हजार ५३ मेट्रिक टन दुध उत्पादन हुने सरकारीको तथ्याङ्क छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख भाष्कर पौडेलले दैनिक पाँचसय लिटर दुध बाहिरी जिल्लाबाट आउनेगरेको बताउनुभयो । ‘करिव ५० को संख्यामा व्यावसायिक फार्म छन्’ उहाँले भन्नुभयो, ‘परम्परागत रुपमा पनि दुध उत्पादन भइरहेको छ ।’ उहाँका अनुसार जिल्लामा अहिले दाङ र कपिलवस्तुबाट दुध आउनेगरेको छ ।