काठमाडौं । अन्य दलप्रति असहिष्णु बन्दै गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीभित्र पनि आफूबाहेक अन्य नेतालाई देख्न र सुन्न नसक्ने अवस्थामा पुगेका छन् र पार्टीमा आफू नै सर्वेसर्वा, आफूले जे बोल्यो त्यही विधान, आफूले जे चाह्यो त्यही संगठन हो भन्ने मान्यता स्थापित गर्न उद्यत् देखिएका छन् । पार्टीमा वैकल्पिक नेतृत्वको सम्भावना देखिएपछि त्रसित भएका ओलीले नेतृत्वका लागि आफूबाहेक सबैको ढोका बन्द गरिदिने खेलमा लागेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा यो स्थापित परम्परा हो । अहिले पनि चीनका सी जिन पिङ, रुसका भ्लादमिर पुटिन र उत्तर कोरिया किम जोङ उनले बाचुन्जेल आफ्नो पद सुरक्षित गरिसकेका छन्, ओली पनि यिनीहरूकै नक्कल गर्दै अघि बढिरहेका छन् ।
दुई महिनाअघि ७० वर्ष उमेरहद हटाएर पार्टीमा बाचुन्जेल आफैं अध्यक्ष बन्ने दाउमा लागेका ओलीले अहिले आफूलाई कम्युनिस्ट पार्टीका संस्थापक सरह देखाउने र अन्य नेता तथा कार्यकर्तालाई तर्साउँदै आफ्नै गोजीबाट पार्टी सञ्चालन गर्ने रणनीति अपनाएका छन् ।
सरकार गठन, गठबन्धन निर्माण, सरकारबाट बहिर्गमन, सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत हरेक विषयमा एकलौटी निर्णय गर्दै आइरहेका ओलीले पछिल्लो समय पार्टीका कार्यक्रमका क्रममा बनाइने ब्यानरमा आफ्नोबाहेक अन्य नेताहरूको तस्बिर नराख्न उर्दी जारी गरेका छन् । उनले आफूलाई पुष्पलाल, मनमोहन, मदन भण्डारीको दर्जामा राख्ने स्वघोषणा गरेका छन्, जसलाई एमालेकै अधिकांश नेता तथा कार्यकर्ताले आत्मैदेखि स्वीकार गर्न सकेका छैनन् ।
ओलीले किन यसरी एकाएक पार्टीको सबै अधिकार आफूमा निहीत गरे भनेर एमालेभित्रै खोजबिन सुरु भएको छ । एमालेका केही नेताहरूले गरेको खोजबिनमा ओली पार्टीमा वैकल्पिक नेतृत्व आउन सक्ने र त्यसो भयो भने आफ्नो अभीष्ट पूरा हुन नसक्ने बुझेर यसरी एकपछि अर्को निर्देशन जारी गर्ने अवस्थामा पुगेका हुन् ।
पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पछिल्लो समय फुर्सदमा छिन् । उनी फेरि पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छिन् र पार्टीकै केही नेता पनि भण्डारीलाई पार्टीमा फर्काउन चाहन्छन् । भण्डारी र केही नेताहरूको चाहना बुझेका ओलीले भण्डारी पार्टीमा सक्रिय भए आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने र आफू छायाँमा पर्ने भन्ने बुझेर नै भण्डारीको ढोका बन्द गर्ने खेलमा लागेको एमालेकै नेताहरूले बताएका छन् ।
ओलीको नेतृत्वबाट आजित भएका केही पदाधिकारी आगामी महाधिवेशनमा भण्डारीलाई अध्यक्ष बनाउने गरी केन्द्रदेखि तल्लो तहसम्म कसरतमा लागेपछि ओलीले यो चाल चालेका हुन्, एमालेका एक नेताले देशान्तरलाई भने, उनी जसरी पनि विद्याको ढोका बन्द गर्न चाहन्छन् र बाँचुन्जेल आफैं अध्यक्ष बन्ने योजनामा छन् । -देशान्तरबाट
















































