तौलिहवा, भदौ ५ गते । कपिलवस्तु नगरपालिका–६, थुम्हवा गाउँमा सडक तथा नालाको काम अलपत्र पर्दा स्थानीयले निकै सास्ती भोग्न बाध्य भएका छन्।
ठेकेदार कम्पनीले निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम पाँच वर्षदेखि अलपत्र परेपछि स्थानीयवासी हिँडडुल गर्न तथा वारपार गर्न सास्ती खेप्न बाध्य भएका हुन्। पाँच वर्षपहिला नाला निर्माणका लागि खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदारले अलपत्र पारेको ७३ वर्षीय अयोध्या अहिरले बताउनुभयो।
घरअगाडि नै नाला निर्माणका लागि खाल्डो पारेपछि आउजाउ गर्न समस्या भएको छ। खाल्डोमा बालबच्चा खस्ने र डुब्ने डर छ, अहिरले भन्नुभयो, “घरको छतसमेत तोडीदिए बास बस्नका लागि ठाउँ छैन। तिलौराकोट–जगदीशपुर, निगालीकोट–सेमरी, सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवा सडक निर्माणका लागि ७५ करोड लागतमा सन्तोषी निर्माण सेवासँग सम्झौता गरिएको थियो।”
सन्तोषी निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वय एकाइ भवन तथा सहरी कार्यालय रुपन्देहीबाट २०७४ सालमा सो सम्झौता गरेको हो। २०७८ साल वैशाखसम्म निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने भाका रहे पनि बाटो र नाली निर्माणको काम अधुरै छ।
निर्माण कम्पनीले कपिलवस्तु नगरपालिकाको बेलासपुरमा निर्माण गरेको कालोपत्रे सडक छ महिना नबित्दै भत्किएको थियो। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलका अनुसार थुम्हवामा निर्माणाधीन बाटो र नाली बनाउन म्याद थप भइसकेको छ।