तौलिहवा, भदौ ६ गते । बाणगङ्गा नदी कटानका कारण चिन्तित बनेको खोरीयाबासीको समस्या समाधान हुने भएको छ । गत साता लगातार वर्षाका कारण नदीमा बनाएको पक्कि बाँध नै भत्काएपछि स्थानीय समस्यामा परेका हुन् । नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा समेत बढेको छ ।
नदी कटानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन गरिएको हो । नदी कटानका कारण यशोधरा गाउँपालिका वडा नं. ८ खोरीया गाँउ बगाउने खतरा छ भने सो क्षेत्रको खेती योग्य जमिन वगरमा परिणत भएको छ ।
अनुगमनका क्रममा वडा नं. ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानले नदी कटान रोक्न दिर्घकालिन समाधान खोज्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कटान रोक्न तारजाली होइन नदीमा पक्की पिल्लर सहित तार जाली लगाउनु जरुरी छ ।”
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार एक साताअघि परेको अविरल वर्षाका कारण खोरीया गाँउ जोखिममा परेको अवस्था छ । जनताको तटबन्धले गत वर्ष नदीमा लगाएका ढुङ्गा सहितको तारजाली भत्केको अवस्था रहेको उहाँले बताउनुभयो । जनताको तटबन्ध कार्यालयका प्रमुखसँग कुरा भइसकेको र केही दिनमै इन्जिनियर पठाएर पुर्ण मुल्याङकन गरी कटान नियन्त्रण गरिने उहाँको भनाइ छ ।
नदी कटान नियन्त्रण भएन भने यशोधरा गाँउपालिकाको वडा नं. ७ र वडा नं. ८ का दर्जनौ गाँउ जोखिममा पर्ने देखिन्छ । गाउँका सबै जसोको धेरै थोरै जमिन नदीले बगरमा परिणत गरेको छ ।