विनोद अधिकारी
साझा न्यूज । कपिलवस्तु । काठमाण्डौमा हालै सम्पन्न दक्षिण एशियाली क्षेत्रीय जुनियर च्याम्पियन अण्डर १७ व्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्स तर्फ रजत पदक विजेता कपिलवस्तु नगरपालिका वडा नं. १ का खेलाडी अभय महरालाई तौलिहवामा सम्मान गरिएको छ । जिल्ला व्याडमिन्टन संघको आयोजनामा तौलिहवा स्थित जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी महरालाई प्रदेश सभा सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतले प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
यसै गरी जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे, खेलाडी अभयका पिता एडिशन महरा, हजुर बुवा मसन्त महरा, खेल प्रशिक्षक लगायतले खेलाडी अभयलाई सम्मान गर्दै यो जितलाई समग्र नेपालको जीतको रुपमा खुशीयाली मनाएका छन् ।
शशस्त्र प्रहरी बलको काठमाण्डौं हल चोक स्थित कवर्ड हलमा गत मंगलवार सम्पन्न दक्षिण एशियाली क्षेत्रीय जुनियर च्याम्पियन अण्डर १७ प्रतियोगितामा नेपालका तर्फबाट खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।
खेलाडी महराको सम्मान कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तथा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले खेल क्षेत्रको विकासका लागि मुलुकको ३ वटै तहका सरकारले आआफ्नो ठाउंबाट भूमिका खेल्नु पर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा सहभागी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवश्रेष्ठ र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आफुहरुले आफ्नो नगरपालिकाको तर्फबाट समग्र खेल क्षेत्रको विकासका लागि विशेष बजेट तथा कार्यक्रम तय गरेको बताए । समग्र जिल्लाकै खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गर्न जिल्लाका १० वटै स्थानीय तहका प्रमुखहरु संग समन्वय गरेर अघि बढ्नेमा दुवै नगर प्रमुखहरु सिंह र पौडेलले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले अति न्यून साधन स्रोतमा पनि खेल अभ्यास गरेर खेलाडी अभय महराले हासिल गरेको उपलब्धीलाई जगेर्ना गर्दै अन्य खेलाडीहरुको खेल विकासका लागि सवै क्षेत्रको सहयोगको खांचो रहेको बताए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।
खेलाडी महरालाई शुक्रवार उनको गृह वडा कपिलवस्तु नगरपालिका वडा नं. १ को कार्यालयबाट पनि सम्मानित भएका छन् । वडा अध्यक्ष मोहम्मद जाहिद खां लगायतको टोलीले खेलाडी महरालाई वडा कार्यालयमा प्रशंसा पत्र र दोसल्ला सहित वडा स्तरीय सम्मान कार्यक्रम गरेको थियो । यो समाचार आजको साझा न्यूजमा प्रकाशित छ ।