रमेश मिश्रा । साझा न्यूज
पुरातात्विक महत्व बोकेको कुदान क्षेत्रमा लुम्विनी विकास कोषले अवैध ढंगबाट स्वागत निर्माण कार्य अघि बढाएको छ । पुरातत्व विभागको स्विकृति वेगर नै यहां जवरजस्ती ढंगबाट कोषले स्वागत गेटको निर्माण कार्य गरिरहेको छ ।
हाल भएको गेट नजिकै भित्र पट्टी आर.सी.सी. संचनामा नयां गेट निर्माण गरिदै छ । पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माण गर्नु पुर्व विभागको स्वीकृति लिनु आवश्यक रहेको पुरातत्व विभागका प्रवक्ता पुरातत्वविद् राम बहादुर कुंवरले बताए । लुम्विनी विकास कोषबाट गेट निर्माणका लागि स्वीकृति माग गरिएको तर नियम अनुसार नमिल्ने भए पछि स्वीकृति प्रदान गरिएको छैन, प्रवक्ता थापाले भने, “यसरी हुदै गरेको निर्माण कार्य नियम विपरित छ ।”
गेट निर्माण कार्य भक्तपुरको तुलसी कन्स्ट्क्सन एण्ड कम्पनीले गरिरहेको लुम्विनी विकास कोषले जनाएको छ । कोषका अनुसार, कुदान परिसरमा काठे फुटपाथ निर्माण कार्य संगैको प्याकेज ठेक्कामै सो आर.सी.सी. संरचनाको गेट निर्माण कार्यको अघि बढेको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ का अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै प्रकारका खन्ने तथा निर्माण गर्ने कार्य गर्न अनिवार्य रुपमा पुरातत्व विभागसंग अनुमति लिनु पर्ने प्रावधान छ ।
तर कोषले यो कानुनी प्रावधानलाई लत्याएको छ । झारो टार्नका लागि स्वीकृति माग पत्र पुरातत्व विभाग काठमाण्डौंमा पठायो तर विभागले कुदान क्षेत्र पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहां पक्की आरसीसी गेट निर्माण गर्न भने स्वकृति दिएन । तर पनि जवरजस्ती ढंगबाटै भए पनि कोषले गेट निर्माण कार्य भने अघि बढाईरहेको छ ।
पुरातत्व विभागको स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचना निर्माण कार्य गरेको प्रति स्थानीय सास्कृतिक अगुवाहरुले पनि विरोध जनाएका छन् । प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थल वरपर नियम विपरित जथाभावी गरिने निर्माण कार्यलाई तत्काल रोक्नु पर्ने स्थानीय अगुवा पशुपति मणि त्रिपाठीले बताए ।
शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरे पछि पहिलो पटक यसै कुदान क्षेत्रमा आफ्ना माता पिता पत्नी छोरा तथा परिवारका अन्य सदस्यहरुलाई भेट गरेका थिए । बुद्धलाई ध्यान गर्न, बस्नका लागि उनका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा विहार निर्माण गरेका थिए ।
यसै स्थानमा बुद्धका छोरा राहुल र पत्नी मायादेवी भिक्षु तथा भिक्षुणी बनेका थिए । कुदानलाई राजा शुद्धोधनको न्यायालयको रुपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ । हाल विभिन्न देशका बौद्धमार्गीहरु कुदान क्षेत्रमा आई ध्यान तथा प्रार्थना गर्ने गरेका छन् । उनीहरुका लागि यो अति पवित्र शान्ति स्थल हो ।
बौद्धकालीन ईतिहास बोकेको पुरातात्विक क्षेत्रमा कोषको जवरजस्ती हस्तक्षेप मान्य नहुने स्थानीयले बताएका छन् । नियम विपरित भई रहेको निर्माण कार्य रोक्न लगाउन स्थानीयले प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह समेत गरेका छन् ।