कपिलवस्तु । कपिलबस्तु स्थित दलित सामाजिक विकास केन्द्रको अध्यक्षमा सुर्जमति पासी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । दलित सामाजिक विकास केन्द्रको १९ औँ साधारण सभा तथा विशेष अधिवेशनबाट संस्थाको अध्यक्ष पदमा सुरजमति सर्वसम्मत चयन भएकी हुन ।
यसअघि सो संस्थाका अध्यक्ष रहेका संजय कुमार कोरीले लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेपछि नवनिर्वाचित अध्यक्ष पासी कार्यवाहक अध्यक्षका रुपमा काम गर्दै आएकी थिइन् ।
जसको उपाध्यक्षमा विश्राम कोरी, सचिवमा रिखीराम हरिजन, सहसचिवमा कुसुम कोरी र कोषाध्यक्षमा निलम पासी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा अनिता श्रीमाल, राजेन्द्र पासी, रोहित लाल कोरी र पुजन पासी चयन हुनुभएको दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रेदासले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लाको यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डे र पूर्व अध्यक्ष प्रवीणकुमार श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो ।
दलित सामाजिक विकास केन्द्रले जिल्लाका विभिन्न पालिकाहरूमा जीविकोपार्जन, वातावरण संरक्षण, महिला सशक्तिकरण, कृषि तथा पशुपालन र दलित समाज उत्थानको क्षेत्रमा स्थानीय सरकारसंगको समन्वय र विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुको सहयोगमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा गत आर्थिक बर्षको प्रगति वितरण समेत पेश गरिएको थियो । कार्यक्रममा कर्मचारीहरको हौसला प्रदान गर्न प्रोत्साहन स्वरुप सम्मान पनि गरिएको संस्थाका रामेश कुर्मीले बताउनुभयो ।