साझा न्यूज । तौलिहवा
स्थानीय तहको कर्मचारीहरुको आन्दोलनका कारण कपिलवस्तुका १० वटै पालिका कै कामकाज ठप्प भएको छ । संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने माग गर्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनरत कपिलवस्तुका स्थानिय तहमा कार्यरत कर्मचारीले गत असोज १९ देखि जिल्लाका सबै पालिकामा पेन डाउन गरेका हुन ।
कपिलबस्तु नगरपालिका स्तरीय संघर्ष समितिका संयोजक बलराम न्यौपानेको संयोजकत्वमा गठित संघर्ष समितिले आन्दोलनलाई ऐक्यवद्धता प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
संघिय निजामती सेवा ऐनको विधेयक २०८० पारित गरी निर्णयार्थ संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय सेवाको कर्मचारीहरूको सेवा सुरक्षा लगायतका विषयमा अस्पष्टता भएकोले स्थानीय तहका कर्मचारीहरूको सेवा सुरक्षा सम्बन्धि विषयलाई समावेश गरी यथाशिघ्र एकीकृत निजामती सेवा ऐन जारी गर्न स्थानीय तहका कर्मचारी केन्द्रिय संघर्ष समितिले प्रशासनिक पूर्ण कार्यान्वयनको आधार तिनै तहका कर्मचारीको समान अधिकार भन्ने मुल नाराका साथ विभिन्न दवावमुलक कार्यक्रम संचालन गरिरहेको छ ।
देशभरीका सबै स्थानीय तहमा अति आवश्यक सेवा वाहेकका अन्य सबै सेवाप्रवाह नगर्ने गरी अनिश्चितकालिन पेन डाउन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा यस नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुले पूर्ण ऐक्यवद्धता जनाउँदै गठित पालिका स्तरीय संघर्ष समितिले ज्ञापन पत्र बुझाएका हुन् ।
बुझाइएको विज्ञप्तिमा नगरकार्यपालिकाको कार्यालय र अन्तर्गतका सम्पूर्ण वडाहरूमा अतिआवश्यक सेवा वाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालिन पेनडाउन गरिएको छ ।