साझा न्यूज । समाचारदाता
तौलिहवा, असोज २३ गते । कपिलबस्तुका कृषक दुग्ध बेचेरै मनग्य आम्दानी गर्न थालेको छन् । कपिलबस्तु नगरपालिका ९ जगदिशपुर क्षेत्रका कृषकहरु दुग्ध बेचेर गत आर्थिक बर्षमा ४ करोड ६२ लाख भन्दा बढी आम्दानी गरेका हुन् । स्थानीय स्तरमा साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाले साना किसान दुग्ध उद्योग संचालन गरेपछि कृषकहरुले सहकारी मार्फत दुग्ध बिक्री गरी सो आम्दानी गरेका छन् ।
स्थानिय कृषक यमलाल पौडेलका अनुसार गत आर्थिक बर्षमा २५ हजार ७२० लिटर दुग्ध विक्रि गरी १६ लाख ४६ हजार २ सय आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ आफु विदेश नगई करिब २ बिघा जमिन लिजमा लिई घाँस खेती गरेको बताउनुभयो ।’ घाँस खेतीले दुग्ध उत्पादन नियमित हुनुको साथै उत्पादन लागत घटी पशु तुलनात्मक रुपमा स्वस्थ्य रहेको र आफु पशुपालन व्यवसायमा सन्तुष्ट रहेको उहाँको भनाई छ ।
त्यस्तै आर्का कृषक हरि प्रसाद पौडेलका अनुसार गत आर्थिक बर्षमा २४ हजार ८१३ लिटर दुग्धबाट १७ लाख ७८ हजार ६४३ रुपैयां आम्दानी गरेको बताउनुभयो । मेहेनत गर्ने हो भने स्वदेशमै बसि मनग्य आम्दानी गर्न सकिने उदाहरण उद्योगमा दुग्ध बिक्री गर्ने कृषकहरुले देखाएका छन् ।
संस्थाका अध्यक्ष निर्मला गौतमका अनुसार आर्थिक बर्ष ०७९।०८० मा ६५९ जना किसानले ६ लाख १६ हजार ५७९ लिटर दुग्ध विक्रि गरी ४ करोड ७७ हजार ६३५ रुपैया कृषकहरुलाई रकम भुक्तानी गरिएको बताउनुभयो ।
उद्योगले कृषकहरुलाई गत आर्थिक बर्ष ०७९।०८०मा १ हजार ९२० केजी घाँसको बीउ लागत साझेदारीमा वितरण गरिएको संस्थाका प्रबन्धक बसन्त मुराउले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष २०७८।०७९ मा १ हजार ६४२ किलो घाँसको बीउ कृषकहरुलाई लागतसाझेदारीमा वितरण उहाँको भनाई छ ।
भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख विष्णु खनालका अनुसार कृषकहरुलाई सहकारी मार्फत प्रदेश सरकारले पशुपालन व्यवसायमा आकर्षित गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रति लिटर २ रुपैयाको दरले प्रोत्साहन दिदै आएको बताउनुभयो । आर्थिक बर्ष ०७९।०८० मा १२ लाख ३३ हजार १५६ रुपैयाँ सहकारी मार्फत किसानहरुको बैक खातामा उपलब्ध गराईएको उहाँले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष ०७८।०७९मा रकम १२ लाख १० हजार ६९८ रुपैयाँ किसानहरुको बैक खातामा उपलब्ध गराइएको हो ।