काठमाडौं, असोज २९ गते । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दैगएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
आइएफजे एसिया–प्यासिफिकको कार्यकारी समितिको बैठकमा सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्नेक्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीका पहल गर्नुपर्ने बताउनुभयो ।
युद्धग्रस्त क्षेत्रमा मात्र नभएर सामान्य अवस्था हुँदा पनि पत्रकारमाथि आक्रमण र धम्कीका घटना भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आजको अवस्थामा पनि विभिन्न स्वार्थ समूहले पत्रकारमाथि आक्रमण गर्ने तथा धम्कीका घटना हुनु दुःखद कुरा हो । यसलाई नियन्त्रण गर्न पीडक पक्षलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’
नेपाल प्रेस युनियका पूर्वअध्यक्ष समेत रहेका आइएफजेका सदस्य सिग्देलले नेपालमा अर्थतन्त्र कमजोर हुँदैजाँदा त्यसको असर आम सञ्चारमाध्यममा पनि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अर्थव्यवस्था धिमा भएसँगै यसको प्रत्यक्ष असर विज्ञापन बजारमा आधारित भएर सञ्चालनमा रहेको आम सञ्चारमाध्यममा परेको छ ।’
त्यसैगरी सामाजिक सञ्जालका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम बढेकाले नियामक निकायलाई बलियो बनाउनुपर्ने पनि उहाँले बताउनुभयो । अनलाइन समाचार पोर्टलमा भएको संख्यात्मक वृद्धिलाई गुणात्मक परिणाम ल्याउनका लागि प्रशिक्षण, नियमन र अनुगमनको दायरा बढाउन आवश्यक देखिएको उहाँको भनाइ छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्यासिफिक अध्यक्ष सबिना इन्द्रजितले युद्धग्रस्त क्षेत्रमा आइएफजेको भूमिका उपस्थिति र भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभयो ।
आइएफजेका महासचिव बिलेङगर एन्थोनीले पत्रकारको सुरक्षा मुख्य चासो भएको उल्लेख गर्दै भन्नुभयो, ‘अहिले मुख्य मुद्दा भनेको युद्धग्रस्त क्षेत्रमा कार्यरत पत्रकारको सुरक्षा नै रहेको छ । हामी दुबै पक्षलाई पत्रकारको सुरक्षामा गम्भीर बनिदिन पनि अपिल गर्दछौं ।’