खजुरा, असोज ३० गते । मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवाला निकायसँग मङ्गलबार नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई सञ्चालन गर्न उल्लेख गरेअनुसार कार्यक्रम सञ्चालनका लागि विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिएको लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका उपसचिव यमकान्त पाण्डेले जानकारी दिनुभयो ।
उपसचिव पाण्डेले प्रदेश सरकारले यो आर्थिक वर्षबाट प्रदेशमा विभिन्न क्षेत्रबाट रोजगारी तथा स्वरोजगारी वृद्धिगरी प्रदेशलाई आत्मनिर्भर गराइ समुन्नत बनाउन नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो ।
कार्यक्रमको अवधारणा र विस्तृत कार्यान्वयन कार्यविधि तर्जुमा तयार गर्नका लागि जिल्लामा रहेका स्रोत, साधन, अवसर, उत्पादन, रोजगारी आदीको सम्भावना अध्ययन गर्नका लागि द्रुत सर्वेक्षण समूह निर्माणगरी सरोकारवालासँग छलफल गरी सुझाव सल्लाह सङ्कलन गरिएको उपसचिव पाण्डेले बताउनुभयो ।
सबै जिल्लामा गरिएका अन्तरक्रियाबाट आएका सुझाव सल्लाहअनुसार कुन कुन क्षेत्रमा लगानी लगाउन सकिन्छ भन्ने निचोड निस्किने र त्यहीअनुसार कार्यक्रमको कार्यविधि बनाइने बताउनुभयो ।
उहाँले कार्यक्रम सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गरी सम्भावना अध्ययन गरिरहेको जानकारी दिनुभयो । यसअघि प्रदेशका ११ वटा जिल्लामा कार्यक्रम गरिसकिएको र बाँकेमा मङ्गलबार कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले प्रदेश सरकारका यसअघिका धेरै महत्त्वाकाङ्क्षी कार्यक्रममा लगानी गरी अनुदान दिने तर कार्यक्रमको प्रभावकारिता बारेमा अनुगमन नगर्ने गरिएकाले सरकारको लगानी डुबेको स्मरण गराउँदै लगानी गर्ने क्षेत्रको पहिचान गरी दिगो व्यवस्थापनसहित नयाँ कार्यक्रम लागू गर्न सुझाव दिएका थिए ।
मुख्यमन्त्री कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा कृषिमन्त्री भण्डारीलाल अहिर, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले, प्रदेशसभा सदस्यहरू कृष्णा केसी, दुर्गाबहादुर चौधरी, बादशाह कुर्मी, बसन्ती अधिकारी, सुशीला नेपाली, मिनाकुमारी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख, सम्पूर्ण पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, कृषि ज्ञान केन्द्र, सामाजिक विकास डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।