स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहले कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिँदै प्रचण्ड र देउवाको मनपरितन्त्र अन्त्य भएको घोषणा गर्नुभएको छ ।
पछिल्लो समय प्रचण्ड र देउवाप्रति सर्वाधिक आक्रामक देखिनुभएका सिंह डा. शेखर कोइरालासँग निकट रहँदै आउनुभएको छ । शेखरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट तुल्याउन मुख्य भूमिका निर्वाह गर्नुहुने अम्रेश जसरी भएपनि देउवा र प्रचण्डबीचको गठबन्धन भत्काउन लागिपर्नुभएको छ । काङ्ग्रेस पार्टीसँग कानूनी र राजनीतिक आवद्धता नरहे पनि सांसद सिंहले शेखर कोइरालासँगको ‘दोस्ती’ यथावत राख्नुभएको छ र, कोइरालालाई अघि सारेर देउवा र प्रचण्डसँग बदला लिने खेलमा देखिनुहुन्छ ।
स्मरणीय छ, गतवर्ष केपी र प्रचण्डबीच गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री चयन गराउन पनि अम्रेश निकै सक्रिय हुनुभएको थियो । प्रचण्डले ओलीको साथ छोडेर देउवासँग मिलाप गर्नुभएयता अम्रेश प्रचण्डविरूद्ध सक्रिय रहँदै आउनुभएको छ । देउवा र प्रचण्डलाई सत्ताबाट विस्थापित गराउन सिंहले केपी र शेखरबीच मात्र नभएर राप्रपा, जसपा र रास्वपाका नेताहरूबीच पनि सहजकर्ताको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिँदै सांसद सिंहले शेखर कोइरालालाई आगामी नेतृत्वको लागि शुभकामना पनि दिनुभएको छ । यसबाट उहाँ एमालेलगायतका दलको सहयोगमा शेखर कोइरालालाई प्रधानमन्त्री बनाउन सक्रिय रहनुभएको स्पष्ट हुन्छ । काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने भन्दै काङ्ग्रेस विभाजन गरेर देउवासँग बदला लिन अम्रेश कुमार कस्सिनुभएको छ, आफ्नो योजनामा उहाँ कसरी सफल हुनुहोला- प्रतीक्षाको विषय बनेको छ ।-घटना र विचार साप्ताहिकबाट