कपिलबस्तु, कात्तिक १२ गते । कपिलबस्तुको कृष्णनगर नगरपालिकामा सार्वजनिक स्थानमा किशोरीहरुको सहभागिताका लागि सक्षम बनाउने वातावरणको सृजना (अभ्यास) परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । परियोजना बारे नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, उप प्रमुख आरती देवी चौधरी, वडाध्यक्ष लगायतका जनप्रतिनिधि र सरोकारवालासंग परियोजनाले गर्ने काम बारे जानकारी गराइएको हो ।
अभ्यास परियोजनाले मधेशी दलित समुदायका किशोरीहरुको पारीवारिक निर्णय, समुदाय, वडा हुदै पालिकाको पहुँचमा बृद्धि, किशोरीहरु आफ्नो इच्छा अनुसार स्वतन्त्र रुपमा हिडडुल गर्न, आफ्नो उमेर पुगेर बिवाह गर्न, पढाईको बारेमा स्वयम निर्णय गर्न सक्ने परियोजनाका कार्यक्रम संयोजक रिषीराम हरिजनले बताउनुभयो । साथै परियोजनाले सांस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यासलाई निरन्तरता दिनको लागि प्रभाव पार्ने ब्यक्तिहरुद्धारा सांस्कृतिक तथा सामाजिक परम्परागत हानिकारक अभ्यास बिरुद्ध लगायतका अभियानहरु सञ्चलन गर्ने उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै नगरप्रमुख रजत प्रताप शाहले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूको साझेदारीमा कार्य गर्न सके यहाँका नागरिकको जीवनस्तरमा थप सुधार ल्याउन सकिने बताउनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले संस्थाको सिकाईलाई आधार बनाएर बजेट विनियोजन गर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रवक्ता एवम् वडा नं. १० का वडाध्यक्ष हरिपाल चर्तुवेदीले परियोजनावाट किशोरीहरुमा सिक्ने क्षमता, बोल्ने वानी, भय हटाउने, स्वयं आफ्नो इच्छानुसार निर्णय गर्न सक्ने लगायतका पक्षहरुमा परिवर्तन ल्याउने बताउनुभयो । संस्थाले कृष्णनगर नगरपालिका छनौट गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो ।
वडा नं. ९ का वडाध्यक्ष सतीश कुमार हरिजनले आगामी दिनमा पालिकावाट पनि सामाजिक परिचालनलाई महत्व दिएर कार्य गर्ने बताउनुभयो । संस्थाले सामाजिक परिचालनमा महत्वपूर्णमा भूमिका खेल्ने उहाँको विश्वास छ ।
कार्यक्रममा गैर सरकारी संस्थाका अध्यक्ष जय प्रकाश पाण्डेयले धेरै प्रयास पछि कृष्णनगर नगरपालिमा संस्थाले काम गर्ने आवसर पाएको बताउनुभयो । उहाँले संस्थाले विभिन्न परियोजनाहरु संचालन गरेको छ, संस्थाको काम गर्ने शैली र योजना एकदमै प्रभावकारी रहेको बताउनुभयो ।
श्रीराम गोरखा मावि बहादुरगंजका सहायक प्रधानाध्यापक पूर्णनन्द मिश्राले समाजमा रहेको रुढीवादी नकारात्मक प्रथाहरुलाई अन्त्य गर्नमा परियोजना राम्रो भुमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो विद्यालय क्ष्ँोत्र अन्र्तगत संचालन हुने भएकोले चाहिएको समयमा सहयोग गर्ने बताउनुभयो ।’
किशोरी अधिकार मंच कृष्णनगरकी अध्यक्ष रुपा कश्यपले कार्यक्रम एक दमै सराहनीय रहेको बताउनुभयो । परियोजनाले किशोरीहरुलाई विशेष महत्व दिएको उहाँको भनाई छ ।
परियोजना संचालन पछि आगामी दिनमा जातीय भेदभाव र हानिकारक परम्परागत अभ्यासहरुको घटनामा कमी हुने, किशोरीहरुको लागि शैक्षिक अवसरमा बृद्धि हुने संस्थाका कार्यकारी निर्देशक राम शरण रैदासले बताउनुभयो । उहाँले समुदायको र पारीवारिक निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता बढ्ने, दलित किशोरी तथा महिला प्रति लक्षित शारीरिक र यौनिक हिंसा तथा जातीय विभेदमा न्युनिकरण आउने बताउनुभयो । साथै दलित समुदायका महिला र किशोरीहरु स्वतन्त्र र सम्मानित जीवन जिउनका लागि शसक्त हुने उहाँको भनाई छ ।
उक्त परियोजना यु एस ए आईडि, सिभिल सोसाईटि एण्ड मिडिया तथा एसिया फाउण्डेसनको आर्थिक एवम् प्रविधिक सहयोग र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा कृष्णनगरको वडा नं. ६, ७, ८ र ९ मा सञ्चालन हुने छ ।
दलित सामाजिक विकास केन्द्रकी अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोविन्द धवलले गरेका थिए ।
















































