–श्याम क्षेत्री, टोकियो(जापान)
तमु धीं जापानले ३० औं ल्होसार साँझ २०२५ विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपले मनाउने भएको छ।
मुप्ही ल्हो बर्गलाई बिदा र सप्रि ल्हो वर्गलाइ स्वागत गर्दै तमु धीं जापानले ३० औं लोसार मनाउन लागेको हो।
टोकियोको सिनागावा स्थित ‘हाना एसियन डाइनिङ्ग रेष्टुरेन्टको सभा हलमा तमु धीं जापानका पूर्व अध्यक्षहरु तथा, वर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरु उपस्थित बैठकले आगामी (सप्रि ल्हो) वर्गको ल्होसार यहि जनवरी २ तारिक विहीबार मनाउने निर्णय गरेको हो।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी मान्यतालाई आत्मासाथ गर्दै सदाझै ल्होसार मनाउँन लागेको तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङ्गले जानकारी दिनु भयो ।
तमु चलचित्र कर्मी गम बहादुर तमु (गोरे दाइ), गायिका उषा तमुस्यो लगाएत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ ।
कार्यक्रममा जापानमा रहनु भएका कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा नृत्य सहित कार्यक्रमलाई विशेष मनोरंजन मुलक बनाउने भएको छ।