फाइल फोटो
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफलमा जुट्दै छन् । यसअघि सोमबार पनि छलफल गरेका ओली र देउवाले आज मंगलबार पनि छलफल गर्न लागेको निकाट स्रोतले जनाएको छ ।
आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । स्रोतका अनुसार उक्त बैठकअघि यी दुई नेता भेटेर छलफल गर्ने तयारीमा छन् । यद्यपि, छलफलको विषय र समय भने खुलाइएको छैन । यसअघि सोमबार भएको छलफलमा प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्रिपरिषद्को फेरबदललगायतका विषयलाई प्राथमिकता दिइएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र देउवा मन्त्रीहरू फेरवदलको तयारीमा छन् । ओली–देउवाबीच बाक्लिएको भेट यसै विषयमा केन्द्रित हुनसक्ने आँकलन गरिएको छ । कांग्रेस सभापति देउवाले आज बिहान बूढानीलकण्ठमा कांग्रेसका महामन्त्री द्वयः विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका थिए ।
यता प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीको ‘कम्बोडियामा लगानी रहेको’ भन्ने मेडिकल व्यावसायी दुर्गा प्रसाईँको अभिव्यक्तिले पनि यतिबेला राजनीतिक बृत तातेको छ । प्रहरीले प्रसाईलाई आज विहान उनकै निवास भक्तपुरबाट पक्राउ गरिसकेको छ ।