कपिलबस्तु, मंसिर १३ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिका–१ मा भइरहेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन् ।
यसपटक दलहरू एकल प्रतिस्पर्धामा रहेकाले उपनिर्वाचनको नतिजा कसको पक्षमा आउँछ भन्ने पूर्वानुमान गर्न गाह्रो छ, तर उम्मेदवारहरु आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।
निर्बाचनमा १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन । मंसिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीब्र रुपमा लागेका छन ।
निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेको मोहम्मद ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मी बिच त्रिपक्षीय भिडन्त हुने मतदाताहरु बताउछन । यस पटकको निर्वाचनमा रास्वपाका अबधेश कुमार चौधरी समेत उम्मेदवार छन ।
सो पदमा नेकपा (माओवादी) केन्द्रको तर्फबाट रफिक मोहम्मद मुसलमान, जनता समाजवादी पार्टीको तर्फबाट रमेश कुमार पाण्डेयले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट राम बहादुर कुर्मी(चौधरी), राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इम्तियाज अहमद, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुर्य कुमार चौधरी थारु, नेकपा(एकिकृत)को तर्फबाट सुब्बा थारुले उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै स्वतन्त्रबाट सर्वजीत मल्लाह, पुजारी थारु, अब्दुल अब्बल फकिर, अब्दुल मुयीद मुसलमान उम्मेदवार रहेका छन् ।
उक्त वडामा कुल ४ हजार ८६८ मतदाता छन । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ ।
गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२, एमालेका अब्दुल मोजिब खाले ८ सय ८९ र जनमतका सिताराम पटेल कुर्मीले ५ सय ४७ मत ल्याएका थिए ।