साझा न्यूज । लुम्विनी
बेलायत स्थित एम्प्लीफाई चेन्ज नामक दातृ संस्था र कालिका स्वावलम्वन सामाजिक केन्द्रको साझेदारीमा संचालन हुन लागेको किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा किशोरीहरुको अभियानमा सबलीकरण कार्यक्रम (सम्सारा) को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका कुल ३३ पालिकामा संचालन हुने बताईएको छ । यो कार्यक्रमले किशोरीहरुको यौन तथा प्रजनन् सम्वन्धी वर्तमान अवस्था, सवालहरुलाई राज्यको ३ वटै तहका सरकारहरु समक्ष पुर्याउने बताईएको छ । कार्यक्रमको प्रारम्भमा कार्यक्रम लागू भएका क्षेत्रमा गरिएको बेसलाईन सर्वेका आधारमा किशोरीहरुको यौन तथा प्रजनन् स्वास्थ्यका सवालहरुलाई उजागर गरिने कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए ।
परियोजना अभिमुखीकरण कार्यक्रममा कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह, कार्यकारी निर्देशक रामेन्द्र सिंह रावल, सम्सारा परियोजनाका लिड कन्सल्टेन्ट समाजशास्त्री प्रकाश दाहालले परियोजनाका आवद्ध कर्मचारी र कालिका स्वावलम्वन सामाजिक केन्द्रको कार्य समितिलाई अभिमुखीकरण गरेका थिए ।
सुरक्षित मातृत्व र यौन तथा प्रजनन् ऐन २०७५ को बारेमा व्यापक जनचेतना जगाउने, यौन तथा प्रजनन् स्वास्थ्य सेवाका सेवाग्राहीको अधिकतम पहुच पुर्याउने र यौन तथा प्रजनन् सेवालाई गुणस्तरीय बनाउने परियोजनाले प्रमुख ३ लक्ष्य लिएको परियोजनाका लिड कन्सल्टेन्ट दाहालले बताए ।
परियोजना १५ नोभेम्वरबाट शुरु भई ३० महिना सम्म संचालनमा रहने कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए । अभिमुखीकरण कार्यक्रममा परियोजनाकी सहायक कन्सल्टेन्ट सोनी खड्का, कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्षहरु प्रशान्त कार्की, महिला उपाध्यक्ष नन्दनी गुप्ता, कोषाध्यक्ष प्रवीण कुमार श्रीवास्तव लगायत कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
















































