साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत १ महिना बढी समय देखि लगातार विदामा वस्दा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुले ४ महिना सम्मको तलब तथा भत्ता पाउन सकेका छैनन् ।
कार्यालयमा केही महिना अघि मात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल कार्यालयमा हाजिर भए लगत्तै लामो समय विदामा वस्दा यस्तो समस्या देखिएको हो । यसै कारण शिक्षकहरुको कार्तिक, मंसीर, पौष महिनाको तलब भत्ता रकम निकासा हुन नसकेको हो ।
नगरपालिकाबाट तलब भत्ता निकासा नहुदा नगर क्षेत्रका ५२ सामुदायिक विद्यालयका २ सय ५० बढी शिक्षकहरु आर्थिक संकटमा परेका छन् । कार्यालय प्रमुख भुषाल कपिलवस्तु नगरपालिकामा सरुवा भई आए पनि यस नगरपालिकामा बसेर कामकाज गर्ने सोचमा छैनन् । उनी पुनः अन्यत्र कार्यालयमा सरुवा गराउन भन्दै लामो समय देखि विदा लिएर काठमाण्डौं स्थित मन्त्रालयमा धाई रहेका छन् ।
जिल्ला बाहिर घर भएका, शिक्षण पेशा बाहेक अन्य आयस्रोत नभएका शिक्षकहरुलाई ४ महिना सम्म पनि तलब भत्ता पाउन नसक्दा निकै समस्या उत्पन्न भएको नेपाल शिक्षक संघका जिल्ला सचिव अन्जन सिग्देलले बताए । बाहिरबाट आएर नगर क्षेत्रमा शिक्षण पेशामा संलग्न रहेका शिक्षकहरुलाई घर भाडा, राशन, बालबच्चाको पढाई खर्च तथा घर खर्च र आफ्ना व्यक्तिगत खर्चहरु चलाउन समेत गाह्रो भएको अवस्था हो, संघका जिल्ला सचिव सिग्देलले भने, “शिक्षण पेशालाई भन्ने बेलामा सम्मानित पेशा भन्ने तर गरिने व्यवहार भने निकै निकृष्ट हुदै आएको छ । ४ महिना भै सक्दा पनि तलब भत्ता निकासा नगरिनु कति हद सम्मको गैर जिम्मेवारीपूर्ण काम हो ? यस तर्फ हामी निकै दुखी छौं ।” यस तर्फ सरोकारवाला निकायको गम्भीर ध्यान आकर्षण हुनु जरुरी छ, उनले भने ।
यस बाहेक विद्यालयहरुमा निकासा गरिनु पर्ने खाजा कार्यक्रमको रकम पनि निकासा हुन सकेको छैन । विद्यालयले उधारोमा लिएर विद्यार्थीहरुलाई दैनिक खाजा खुवाई रहंदा खाजा वापतको सप्लायर्सहरुलाई करीब ४ लाख रुपैया उधारो तिर्न बांकी रहेको एक विद्यालयका प्रधानअध्यापकले बताए ।
प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुदा दिवा खाजा कार्यक्रम प्रभावित भएकै छ, यसका अलावा विद्यालय संचालनका लागि निकासा गरिनु पर्ने प्रति विद्यार्थी अनुदान रकम, नगरपालिकाले सहयोग गर्ने विद्यालय संचालन अनुदान रकम समेत विद्यालयमा निकासा नहुदा विद्यालयको दैनिक प्रशासनिक काम काज संचालनमा समेत निकै गाह्रो हुदै आएको सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुदा नगरपालिकाले बजेट संशोधनका लागि पौष मसान्त भित्र सम्पन्न गरि सक्नु पर्ने हिउदे नगर सभा समेत हुन सकेको छैन । चालु आर्थिक वर्ष र अघिल्ला आर्थिक वर्षमा सम्पन्न भई नियमानुसार भुक्तानी गर्नु पर्ने विकास निर्माणका सवै काम तथा प्रक्रिया पुरा भए पनि विल अनुसारको रकम भुक्तानी हुन नसकेको उपप्रमुख सुनिता गुप्ताले बताईन् ।
नगर प्रमुख सहित वडाअध्यक्षहरुको वैठकले गत शुक्रवार प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल सम्पर्क विहिन रहेको र उहांको ठाउंमा नयां प्रमुख प्रशासकीय अधिकृत पठाई दिन अनुरोध गर्दै सामुहिक निर्णय गरेर संघको सम्वन्धित निकायमा पत्राचार गरिएको नगर प्रमुख सुदीप पौडेलले बताए । आफुहरु यस सम्वन्धमा निकै संवेदनशील रहे पनि केन्द्रबाटै प्रमुख प्रशासकीय अधिकृत नआउंदा नगर क्षेत्रका विभिन्न विषयहरुमा समस्या बढी रहेको छ, नगर प्रमुख पौडेलले भने, “अब एक दुई दिन भित्र केन्द्रले अन्य कोही नयां प्रशासकीय अधिकृत पठाउंछ कि भन्ने आशामा हामी छौं ।”
केही दिन भित्र कार्यालय प्रमुख हाजिर हुन नआए वडा अध्यक्षहरु सहितको टोली आफुहरु काठमाण्डौं मन्त्रालयमै गएर नयां प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि धर्ना दिने नगर उपप्रमुख सुनिता गुप्ताले बताईन् । यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाललाई सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।