सुग्रिव बरई
कपिलबस्तु, माघ ७ गते । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १२ औँ जिल्ला अधिवेशनको नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
प्याब्सन कपिलबस्तुको १२ औँ जिल्ला अधिवेशनबाट धिरेन्द्र विक्रम सिंह लगायतको नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सुधाकर पाण्डे, विष्टि अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, पूर्व अध्यक्ष सुन्दर पाण्डे, गणेश लाल कर्ण लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले वर्तमान शिक्षानीतिमा देखिएका चुनौती र समाधानका उपायहरूमाथि प्रकाश पार्दै, संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा समन्वय प्रमुख बाबुराम आचार्यले सरकारी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै निजी विद्यालयहरूको गुणस्तर कायम राख्नुपर्ने बताउनुभयो । जिल्लास्तरीय निजी विद्यालयहरूको समन्वय र गुणस्तरीय शिक्षामा देखिएका समस्यालाई समाधान गर्न नेतृत्वको सक्रियता अपरिहार्य रहेको उहाँको भनाई छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष सिंहले नयाँ नेतृत्वले संविधानद्वारा निर्दिष्ट निःशुल्क शिक्षाको अधिकारसँग तालमेल मिलाउँदै निजी क्षेत्रलाई दिगो बनाउने बताउनुभयो । समारोहमा संगठनको भावी रणनीति, शिक्षाको गुणस्तर सुधार, र निजी विद्यालयहरूको भूमिका जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो ।
प्याब्सनको पूर्व अध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य केशव सापकोटाले गर्नु भएको थियो ।