साझा न्यूज । कपिलवस्तु
शुद्धोधन, मायादेवी र यशोधरा गाउंपालिकाका घर घरमा सोक्ता सहितको हैण्डपम्प प्लेटफर्म निर्माण कार्यले तिव्रता पाएको छ । हैण्डपम्प क्षेत्र आसपासमा हुने फोहर तथा दुषित पानी व्यवस्थापनका लागि सुधारिएको हेण्ड पम्प प्लेटफर्म निर्माण कार्यलाई तिव्र बनाईएको हो ।
बिएमजेड र डब्लुएचएचको आर्थिक सहयोग, कालिका स्वावलम्वन सामाजिक केन्द्र र फर्वाड नेपालको संयुक्त साझेदारीमा संचालित अधिकारमुखी सुधारिएको खाद्य प्रणाली तथा समान जिविकोपार्जनका अवसरहरुको प्रवर्धनका लागि नागरिक समाज कार्यक्रमबाट प्लेटफर्म निर्माण गरिएको हो । परियोजना लागू भएका शुद्धोधन, मायादेवी र यशोधरा गाउंपालिकाका ४४ वटा घरका हैण्ड पम्पहरुमा हेण्ड पम्प प्लेटफर्म निर्माण गरिएको छ ।
नमूनाको रुपमा निर्माण गरिएको यो प्लेटफर्महरु साना किसान समुहका घर धुरीहरुमा निर्माण गरिएको हो । हैण्डपम्प जडान गरिएको स्थानमै फोहरमैला हुने, दुषित पानी जम्ने, दुषित पानीमा विभिन्न खाले किटाणुहरु रहने हुंदा सो हैण्डपम्पको पानी पिउन लायक स्वस्थ्यकर नहुने मायादेवी गाउंपालिका स्वास्थ्य शाखाका प्रमुख महेन्द्र यादवले बताए । हेण्डपम्प प्लेटफर्म निर्माण भएका हैण्डपम्पहरुको पानी पिउन लायक छ, स्वास्थ्य शाखा प्रमुख यादवले भने, हरेक घरका हेण्डपाईपमा यस प्रकारको प्लेटफर्म निर्माण गरी स्वच्छ पिउने पानी प्रयोग गर्नु पर्छ । यसका लागि व्यापक जनचेतनाको जरुरी छ ।
प्राविधिक मूल्यांकनका आधारमा १४ हजार देखि २७ हजार रुपैया सम्म प्रति प्लेटफर्म निर्माणमा खर्च भएको परियोजनाकी कार्यक्रम संयोजक कमला सापकोटाले बताईन् । नमूनाको रुपमा निर्माण गरिएको प्लेटफर्मको महत्व बुझे पछि शुद्धोधन गाउंपालिकाले पालिका भित्रका विद्यालयहरुका हैण्डपाईपहरुमा पनि प्लेटफर्म बनाउन आग्रह गरेको छ, कार्यक्रम संयोजक सापकोटाले भनिन्, “हेर्दा सामान्य लागे पनि पानीजन्य रोगबाट बच्न, बातावरण सरसफाई गर्न यसको ठुलो भूमिका छ ।”
पालिकाले निर्माण गर्ने हैण्डपम्पहरुमा अनिवार्य रुपमा प्लेटफर्म निर्माण गर्ने स्टीमेट राखेर योजना बनाउंदा पालिकाका हैण्ड पाईपहरुमा पनि प्लेटफर्म सहजै निर्माण हुनेछ ।