साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी अमृत चन्द्र ठाकुरको निधन भएको छ । लामो समय देखि अस्वस्थ्य रहनु भएका नेता ठाकुरको आझ सांझ कपिलवस्तु नगरपालिका वडा नं. २ प्रहरी कार्यालय रोड स्थित आफ्नै निवासमा निधन भएको हो ।
स्वर्गीय ठाकुर नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष तथा पंचायत विरोधी प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना अघि निरंकुश पंचायती शासन व्यवस्थामा प्रजातन्त्र स्थापनाका लागि उनी नेपाली कांग्रेसको योद्धाको रुपमा अनवरत लडिरहेने प्रजातन्त्र सेनानी थिए ।
ठाकुरको निधनको खबरबाट नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यासमिति र नगर कार्यसमितिले गहिरो दुख व्यक्त गर्दै शोक समवेदना प्रकट गरेका छन् ।
सांसद सुरेन्द्र राज आचार्य, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल कलाम, पुर्व सभापति राजेश आचार्य, नगर सभापति खुर्सेद अहमद खां लगायतले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।
स्वर्गीय ठाकुरको शवलाई स्थानीय वाणगंगा नदीको रामघाटमा बुधवार विहान १० बजे दाह संस्कार गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय ठाकुर बुद्ध पद्म मा.वि.का पुर्व खेल शिक्षक थिए । जिल्ला खेलकुद विकास समिति, पशुपति प्रताप पुस्तकालय, नेपाल रेडक्रस लगायत विभिन्न संघ संस्थामा रहेर पनि सामाजिक क्षेत्रको अगुवाको रुपमा पनि परिचित थिए ।