कपिलवस्तु । शिक्षा तथा मानव स्रोत विकास केन्द्र , युनिसेफ नेपाल, समुन्नत नेपाल काठमाण्डौ, र कालिका सेल्फ रिलायन्स सोसियल डेभलपमेन्ट सेन्टरको संयुक्त टोलीले लुम्बिनी प्रदेश अन्तर्गतका हथिहवा र तिलौरकोट सामुदायिक सिकाइ केन्द्रहरूको अनुगमन तथा औपचारिक भेटघाट गरेको छ।
अनुगमन टोलीमा युनिसेफ नेपालका शिक्षा प्रमुख डा नेभेन, युनिसेफ भैरहवाबाट रजनी महर्जन र मीन मझकोटी, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट महेन्द्र पराजुली र वैकुण्ठ आचार्य, समुन्नत नेपालबाट नवराज जोशी र सुग्रीम यादव तथा कालिका स्वाबलम्बल समाजिक विकास केन्द्रबाट रमेन्द्र सिंह रावल, हरिचन्द्र चौधरी र ममता भट्टराईको सहभागिता रहेको थियो।
भेटघाटका क्रममा सामुदायिक सिकाइ केन्द्रहरूको वर्तमान अवस्था, सिकाइ कार्यक्रमहरूको प्रभावकारिता, भावी योजना तथा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो। छलफलमा अनौपचारिक शिक्षा, एकीकृत शिक्षा व्यवस्थापन र सूचना प्रणालीमा प्रभावकारी पहुँच आवश्यक रहेकोमा जोड दिइएको थियो।
त्यस्तै, विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन गरी उनीहरूलाई विद्यालयमा भर्ना गराउने, साथै किशोर–किशोरीहरूलाई स्थानीय रोजगारीको सम्भावना अनुसार सीपमूलक तालिमसँग जोड्ने विषयमा समेत विशेष चर्चा गरिएको थियो।
कार्यक्रमले सामुदायिक सिकाइ केन्द्रहरूलाई थप सशक्त बनाउने दिशामा सम्बन्धित निकायहरूको सहकार्य र भूमिकालाई थप स्पष्ट बनाएको सहभागीहरूको भनाइ छ।