साझा न्यूज । कपिलवस्तु
जिल्लामा रहेर कृषि पेशालाई व्यवसायिक ढंगबाट अंगाल्दै आएका उत्कृष्ट कृषकलाई १ लाख रुपैया राशीको एग्रीवस्तु कृषितारा २०८२ अवार्ड प्रदान गरिएको छ । दीप कुमार उपाध्याय फाउण्डेशनको आयोजनामा बुद्धभूमि नगरपालिका वडा नं. १० धनकौली स्थित एग्रीवस्तु कोल्ड स्टोरेज प्रा.लि.को प्रांगढमा आयोजित कपिलवस्तु एग्रीवस्तु कृषि तारा प्रतियोगिताको पुरस्कार घोषणा कार्यक्रममा स्थानीय कृषक बहरैची केवटलाई १ लाख रुपैया राशीको सो पुरस्कार प्रदान गरिएको हो ।
यसै गरी ७५ हजार रुपैया राशीको एग्रीवस्तु कृषि तारा द्वितीय पुरस्कार पनि बुद्धभूमि नगरपालिका वडा नं. १० कै कृषक कृष्ण मोहन केवटले प्राप्त गरेका छन् । ५० हजार रुपैया राशीको एग्रीवस्तु कृषि तारा तृतीय पुरस्कार शिवराज नगरपालिकाका मौरीपालक कृषक कृष्णलाल भारतीले पाउन सफल भएका छन् ।
५० हजार राशीको उत्कृष्ट कृषि उद्यमी पुरस्कार विदेशबाट फर्किएर स्थानीय स्तरमै कृषि पेशामा उत्कृष्ट बनेका वाणगंगा नगरपालिकाका दल बहादुर रानालाई प्रदान गरिएको छ । एग्रीवस्तु उत्कृष्ट महिला कृषकको रुपमा शिवराज नगरपालिकाकी महिला कृषक दुर्गा अर्याललाई ५० हजार पुरस्कार प्रदान गरिएको छ ।
सो अवसरमा ५ जना कृषकहरुलाई एग्रीवस्तु कृषि तारा सान्तवना पुरस्कार स्वरुप विभिन्न कृषि सामाग्रीहरु प्रदान गरिएको छ । यसरी पुरस्कृत हुने कृषकहरुमा सत्यभामा केटव, सन्तोष कुमार चौधरी, राम बहादुर थारु, सत्य नारायण थारु र वैभव प्रताप शाह रहेका छन् ।
यसै गरी कालिका स्वावलम्वन सामाजिक केन्द्रले जिल्लाका चार वटा गाउंपालिकाहरु विजयनगर, यशोधरा, मायादेवी र शुद्धोधन गाउंपालिका भित्र रहेका साम माम वच्चाका परिवारहरु मध्ये सरसफाईमा उत्कृष्ट रहेका १० जना परिवारलाई प्रत्येक परिवारका व्यक्तिलाई ३१ हजार रुपैया बराबरको पोषण र सरसफाई सम्वन्धी सामाग्रीहरु सहित सम्मान गरिएको छ ।

प्रथम पुरस्कार १ लाख विजेता कृषक बहरैची केवटले यो पुरस्कार पाए लगत्तै आफूलाई कृषिमा अझै धेरै काम गर्न हौसला मिलेको बताए । कृषिलाई नै मूल पेशा बनाएर काम गर्दा मनग्यै आम्दानी त कमाएकै थिए, केवटले भने, “अहिले त झन् १ लाख रुपैया राशीको पुरस्कार र सम्मान पनि पाएं । मेरो लागि जीवनको यो अति महत्वपूर्ण क्षण हो ।”
एग्रीवस्तु प्रा.लि.का प्रवन्धक आशिष शर्माले कृषि नै नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यसको वास्तविक साधक कृषकहरु नै भएका कारण उनीहरुलाई सम्मान गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए । कृषि पेसामा लागेर केही हुँदैन भन्ने नकारात्मक सोचलाई चिर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आफुले अपेक्षा गरेको प्रवन्धक शर्माले बताए । आगामी दिनमा यो कार्यक्रमलाई प्रदेश र राष्ट्रिय स्तरमै आयोजना गर्ने सोंच रहेको उनले बताए ।
यति ठुलो राशीबाट कृषकहरुलाई सम्मान गर्ने एग्रीवस्तु कृषि तारा अवार्ड नेपालमै पहिलो हो । कृषकहरुलाई यसरी सम्मान गर्न उनीहरुको मनोवल उच्च हुने र उनीहरुले गरेका उत्कृष्ट कृषि अभ्यासको प्रचार प्रसार भई अन्य कृषकहरुका लागि पनि उदाहरण वन्न सक्ने अपेक्षा सहित कार्यक्रमको आयोजना गरिएको दीपकुमार उपाध्याय फाउण्डेशनकी अध्यक्ष मिथुला शर्माले बताईन् ।
कपिलवस्तु जिल्लाका कृषकहरूको सम्मान र कृषि क्षेत्रको प्रवर्धन गर्ने मूल लक्ष्यका साथ आयोजना गरिएको एग्रीवस्तु कृषि तारा–२०८२ प्रतियोगिता अगुवा कृषकहरु समग्र कृषि क्षेत्रका लागि एउटा ठुलो उत्सवको रुपमा आफुले लिएको प्रतियोगिता पुरस्कार छनौट समितिका सदस्य तथा कृषिविद् खुर्सेद अहमद खांले बताए ।
प्रतियोगिताका लागि वैशाख मसान्तसम्म आवेदनको म्याद तोकिएकोमा जिल्लाका विभिन्न पालिकाहरुबाट कुल ९० वटा आवेदन फारम प्राप्त भएका थिए । मौरीविद् अनिरुद्ध नाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको सूक्ष्म अध्ययन गरी क्षेत्रफल, उत्पादन र फिल्ड अनुगमन लगायतका आधारमा ५ जना उत्कृष्ट कृषक र ५ जना सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुको कृषकहरुका छनौट गरेको थियो ।

भारतका लागि नेपाली पूर्व राजदूत तथा पूर्व मन्त्री प्रमुख प्रायोजक दीपकुमार उपाध्याय फाउन्डेसनका संरक्षक दीपकुमार उपाध्यायले यस प्रतियोगिताले कपिलवस्तुका कृषकहरूमा नयाँ उत्साह र ऊर्जा थप्ने अपेक्षा व्यक्त गरे। उनले कृषि क्षेत्रमा सक्रिय कृषक, वैदेशिक रोजगारबाट फर्केर कृषिमा लागेका युवा र महिला कृषकहरूलाई विशेष सम्मान गर्ने यस कार्यक्रमको लक्ष्य रहेको बताए ।
कार्यक्रममा कृषक, स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, पत्रकार विभिन्न राजनीतिक दलका नेताहरु लगायत गरी करिब १५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिनुका साथै राष्ट्रिय हास्य कलाकार जितु नेपाल मुन्द्रेले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा कृषकहरुलाई सम्मान, खादा, प्रमाणपत्र र चेक हस्तान्तरण गरिएको थियो भने मूल्याङ्कन समिति र सहयोगी संस्थाहरुलाई आभार पत्र प्रदान गरिएको थियो । कार्यक्रममा दीपकुमार उपाध्याय फाउन्डेसनकी अध्यक्ष मिथिला शर्मा, उपाध्यक्ष युवराज के.सी. लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रम अन्र्तगत आईडीई नेपाल, हेलेन केलर ईन्टरनेशनल, भिटामिन एन्जल र कालिका स्वावलम्वन सामाजिक केन्द्रको सहकार्य रहेको थियो ।
















































