कृषकलाई प्रोत्साहन गर्दै व्यवसायिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले कपिलवस्तु नगरपालिका वडा नम्बर ८ ले १४३ जना कृषकलाई विद्युतीय (इलेक्ट्रिक) स्प्रेयर ट्यांकी वितरण गरेको छ।
वडाअन्तर्गत सहकारी, सामूहिक तथा व्यक्तिगत रूपमा खेतीपाती गर्ने कृषकहरूलाई लक्षित गर्दै वितरण गरिएको उक्त सामग्री वडाध्यक्ष शिवकुमार पाण्डेयले हस्तान्तरण गर्नुभयो। उहाँले कृषकलाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमा थप सहयोग पुर्याउने वडा कार्यालयको योजना रहेको जानकारी दिनुभयो।
“कृषिमा आत्मनिर्भरता हासिल गर्न यस्ता उपकरण सहयोगी हुन्छन्,” वडाध्यक्ष पाण्डेयले भन्नुभयो, “आगामी दिनमा पनि कृषकलाई आवश्यक सहयोग निरन्तर जारी रहनेछ।”
दिइएको स्प्रेयर ‘टु इन वन’ प्रविधिमा आधारित छ, जसलाई ब्याट्री र हात दुवैबाट सञ्चालन गर्न सकिनेछ। यसमा विशेष प्रकारको गन जडान गरिएको छ, जसको प्रयोग गरेर कीट, रोग र झारपात नाशक विषादी तथा भिटामिन बोटबिरुवामा छर्न सकिन्छ। स्प्रेयर ट्यांकीको क्षमता १६ लिटर रहेको छ।
उपकरण प्राप्त गरेका कृषकहरू खुशी भएका छन्। उनीहरूले प्राप्त उपकरणलाई उत्पादन वृद्धि र खेतबारीको संरक्षणमा भरपूर उपयोग गर्ने जनाएका छन्।
















































