कपिलवस्तु, असार ३१ गते । कपिलवस्तु नगरपालिका–२ नयाँटोलस्थित ओमकार नाथ शुक्लाको ढाई तले पक्की घरमा आईतबार साढे एघरा बजे विद्युत सर्ट भई अचानक आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको खबर पाए लगात्तै वडा प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुबाट प्रहरी नायव निरीक्षक यादव न्यौपानेको कमाण्डमा ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी निरीक्षक त्रिभुवन जिसीको कमाण्डमा ११ जनाको टोली खटिएको थियो ।
लागेको उक्त आगो कपिलवस्तु नगरपालिकाका दुईवटा दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । यद्यपि, आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ । मानवीय तथा चौपाया क्षति नभएको प्रहरी नायव निरीक्षक न्यौपानेले बताउनुभयो ।
आगलागीबाट सोही घरमा कोठा भाडामा बस्दै आएका सुनिल कुमार तिवारीको कोठामा आंशिक क्षति पुगेको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १९ लाख २८ हजार १० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















































