आर के मिश्रा। साझा न्यूज
कपिलवस्तु । कपिलवस्तु जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणाको माग गर्दै जसपा नेपालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा पुगेका जसपाका नेताहरुले आर्थिक प्याकेज सहितको राहत उपलब्ध गराउने गरी कपिलवस्तु जिल्लालाई सुख्खाग्रस्त जिल्ला घोषणा गर्न माग गरेका छन् ।
आकाशे पानीको भरमा खेतीमा निर्भर किसानहरुको लामो समय देखि पानी नपरेको कारण पूर्णरुपमा रोपाई समेत गर्न नसकिएको, रोपेको धान बालीमा पानीको अभावले धाजा फाट्न लागेको र सरकारले समयमा रसायनिक उपलब्ध गराउन नसक्दा देशका कृषि क्षेत्र तथा किसानहरुको समस्या रहेको भन्दै जसपाका नेताहरुले ज्ञापन पत्र मार्फत सरकारको ध्यान आकर्षण गराएका छन् ।
सरकारले मधेश प्रदेशलाई मात्र सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नु दुखद पक्ष रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापन पत्रमा कृषकहरुले भारतीय सीमा क्षेत्रबाट लुकी छिपी ल्याउने रसायनिक मलखादमा सुरक्षाकर्मीहरुले दुख दिने गरेको प्रति आपत्ति जनाईएको छ ।
जसपा नेपालका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा पार्टीका केन्द्रिय सदस्य तथा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, जसपाका नेताहरु राम नेवास यादव, साधिका यादव, मोहम्मद जाहिद खां लगायतको उपस्थिति रहेको थियो ।
















































