कपिलवस्तु, चैत्र १२ गते । कपिलवस्तु नगरपालिका वडा नं ६ मा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ । बैठकमा वडाभित्र कुपोषण न्यूनीकरण, खाद्य सुरक्षा सुनिश्चितता, गर्भवती तथा स्तनपान गराउने आमाहरूको पोषण सुधार तथा बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
बैठकमा वडा अध्यक्ष रामजत कुर्मी ले पोषणमैत्री वडा निर्माणका लागि सबै सरोकारवालाको समन्वय र सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले कुपोषण न्यूनीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडास्तरबाट आवश्यक पहल गरिने उल्लेख गर्नुभयो ।
तिलौराकोट स्वास्थ्य चौकीका प्रमुख सुभाष यादव ले गर्भवती तथा स्तनपान गराउने आमाहरूको पोषण सुधार, बालबालिकाको नियमित स्वास्थ्य परीक्षण र सन्तुलित आहारको महत्वबारे जानकारी गराउँदै पोषणसम्बन्धी सचेतना कार्यक्रमलाई अझै विस्तार गर्नुपर्ने बताउनुभयो ।
समितिका सदस्यहरू, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्रका प्रतिनिधि, युवा तथा बालबालिका प्रतिनिधिको सक्रिय सहभागितामा सम्पन्न बैठकले वडाभित्र पोषण सुधार र खाद्य सुरक्षा सुदृढीकरणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।
















































