काठमाडौँ, साउन २६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रमसिंह थापाले मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सुनसरी, सिराहा र कपिलवस्तुका दुःखद घटनाप्रति सदनको ध्यानाकर्षण गराउनुभएको छ।
बैठकको विशेष समयमा बोल्दै सांसद थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा पार्न सक्ने दीर्घकालीन प्रभावप्रति संवेदनशील हुन आग्रह गर्नुभयो। यस्ता घटनालाई राजनीतिक आरोप-प्रत्यारोपमा मात्र सीमित नगरी घटनाको गहन छानबिन मार्फत वास्तविक कारण, अफवाह, भीड परिचालन र सुरक्षा कमजोरीको पहिचान गर्नुपर्ने धारणा उहाँले राख्नुभयो।
विगतका घटनाबाट पाठ सिक्दै भविष्यमा हिंसा हुनुअघि नै जोखिम पहिचान र हस्तक्षेप गर्न प्रभावकारी पूर्वसूचना तथा रोकथाम प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “सामाजिक सञ्जाल, दुष्प्रचार, एआई प्रविधि र डीपफेक मार्फत केही घण्टामै हिंसा भड्किन सक्ने वर्तमान परिवेश छ,” सांसद थापाले भन्नुभयो, “यसलाई सम्बोधन गर्न कानुनी संयन्त्रसहित डिजिटल जोखिम नियन्त्रण, सुरक्षा संयन्त्रको आधुनिकीकरण तथा एकीकृत सुरक्षा प्रणाली निर्माण गर्न आवश्यक छ।”
उहाँले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै समुदायका धर्मगुरु तथा सरोकारवालाको सहभागिता रहने गरी सर्वपक्षीय संयन्त्र गठन गर्न र साम्प्रदायिक संवेदनशीलता एवं सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गर्नुभयो।
यसैगरी कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको प्रमाण हामीसँग रहेको भनी प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति वीर पुर्खाको सम्मान, मातृभूमिप्रतिको अथाह प्रेम र क्षेत्रीय अखण्डताप्रतिको प्रतिबद्धता भएको टिप्पणी उहाँले गर्नुभयो। यस विषयलाई उत्तेजना वा द्वन्द्वको माध्यम नबनाई कूटनीतिक माध्यमबाटै समाधान गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
सामाजिक सद्भाव, राष्ट्रिय एकता र मातृभूमिको अखण्डता जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले सीमा तथा साम्प्रदायिक संवेदनशीलतामा राज्य थप गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
















































