- विशेष प्रतिनिधि, कपिलवस्तु
जन्मदिन केवल क्यालेन्डरको पाना फेरिनु वा उमेर बढ्नु मात्र होइन, यो त जीवनको यात्रामा अर्को एक सार्थक पाइला थप्दै समाजमा प्रेम र सुवास छर्ने सुवर्ण अवसर पनि हो । यही मर्मलाई आत्मसात गर्दै कपिलवस्तुको तौलीहवास्थित वडा नम्बर १ का युवा सजेसन क्षेत्रीले आफ्नो जन्मोत्सवलाई भौतिक विलासिता र तडकभडकबाट टाढा राखेर असाधारण मानवीयताका साथ सम्पन्न गरेका छन् ।
क्षेत्रीले आफ्नो जन्मदिनको पावन अवसरमा तौलीहवास्थित बालगृहमा आश्रित टुहुरा तथा असहाय बालबालिकाहरूको माझ पुगेर उनीहरूसँगै खुसीका पलहरू साटेका हुन् । आधुनिकताको दौडमा जन्मदिनलाई भोजभतेर र फजुल खर्चमा सीमित गर्नेहरूका माझ उनले गृहका बालबालिकाहरूलाई अंगालोमा समेट्दै एक उच्च मानवीय दृष्टान्त प्रस्तुत गरेका छन् ।

उक्त विशेष अवसरमा उनले बाल गृहका बालबालिकाहरूलाई मिठो मसिनो स्नेहयुक्त खाना खुवाएका थिए । बालबालिकाहरूको ओठमा मुस्कान छर्दै, उनीहरूसँगै केक काटेर उनले आफ्नो जीवनको नयाँ वर्षको सुरुवात गरे । निष्पाप बालबालिकाको खित्का र आत्मीयताले त्यो सादा परिवेशलाई एउटा स्वर्गीय आनन्दमय थलोमा परिणत गरेको थियो ।
‘जन्मदिन त धेरैले मनाउँछन्, तर कसैको आँसु पुछ्दै वा कसैको मुहारमा मुस्कान ल्याउँदै मनाउनुको आनन्द नै बेग्लै हुन्छ’, क्षेत्रीले आफ्नो भावना व्यक्त गर्दै भने ।
समाज सेवा नै नैसङ्गिक धर्म हो भन्ने मान्यतालाई चरितार्थ गर्दै उनले गरेको यो कार्यले तौलीहवाको बौद्धिक तथा सामाजिक वृत्तमा गहिरो छाप छोडेको छ। भौतिक उपहारभन्दा आत्मिक सन्तुष्टि ठूलो हुन्छ भन्ने संदेश दिने सजेसन क्षेत्रीको यो कदमले आगामी दिनमा अन्य युवाहरूलाई पनि समाजप्रतिको उत्तरदायित्व बोध गराउन प्रेरणा दिने विश्वास गरिएको छ।


















































