कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आएको छ। गत साउन २२ गते गौरीसिंगे जंगलमा सम्पर्कविहीन भई साउन २४ गते जंगलको झाडीमा उनको शव फेला परेको थियो। रिपोर्टमा सिंहको मृत्यु शव फेला पर्नु ३६ घण्टा अघिनै भएको उल्लेख रहेको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिए।
गत साउन २४ गते शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो। सिंहको शरीरमा कुनै चोटपटकको निशानी नदेखिएको उनले बताए। यद्यपि सिंहको मृत्यु स्वाभाविक वा हत्या हो भन्ने अझै यकिन भइनसकेको उनले बताए। रिपोर्टमा मृत्युको कारणसमेत अझै स्पष्ट रूपमा नखुलेको उनले बताए। दोस्रो रिपोर्टपछि अन्य कुराहरू खुल्ने उनले बताए।
घटनाको धेरै कोणबाट अध्ययन अनुसन्धान भइरहेको उनले बताए। विभिन्न व्यक्तिहरूसँग सोधपुछ, मोबाइलको परीक्षण गरी घटनाको सूक्ष्म अध्ययन अनुसन्धान भइरहेको उनले बताए। सम्पर्कविहीन भएको दिन सिंहले दिउँसो ३ बजेर २९ मिनेटदेखि ५ बजेर ५३ मिनेटसम्म विभिन्न व्यक्तिहरूसँग मोबाइलमा सम्पर्क गरेको पाइएको प्रहरी उपरीक्षक भट्टले बताए। सिंहले फोनमा सबैसँग बाटो बिर्सेको, बचाउन आउन भनेको अध्ययन अनुसन्धानमा देखिएको छ।
सिंहको स्वास्थ्य अवस्था कमजोर र हिँड्नसमेत गाह्रो हुने व्यक्ति कसरी त्यो झाडीभित्र पसे, त्यो प्रश्नको उत्तर दिन अझै केही समय लाग्ने बताइएको छ। सिंहको मृत्युलाई अधिकांशले रहस्यमय भएको बताएका छन्।
ढेकरीमा व्यावसायिक फर्मको तयारीका क्रममा उनी त्यहाँ घरबाट दिउँसो २ बजेतिर निस्केका थिए। सिंहले चढ्ने लु १ ख ०७० नम्बरको एभेन्जर बाइक साउन २३ गते साँझ साढे ७ बजेतिर फेला परेको थियो। सिंहलाई साउन २३ गते तालिमप्राप्त कुकुरसहितको टोलीले समेत खोजी गरे पनि फेला पर्न सकेका थिएनन्। शवसँगै मोबाइल, हेल्मेट, पर्स, बाइकको चाबीसमेत फेला परेको थियो।
















































