काठमाण्डौ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अहिलेसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।
चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् ।
बाढीका कारण कतिपय ठाउँमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ । बाढीमा परी अहिलेसम्म एक हजार २०४ जनाको ज्यान गएको छ ।
रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका ठाउँमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको सरकारले बताए पनि कतिपय पीडितहरुले राहत पाउन नसकेको गुनासो गरेका छन् ।
















































