दाङ, भदौ १९ गते । सधैँजसो बिहान बेलुका घरपरिवारसँग फोनमा कुराकानी गर्ने तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियाका अरुण चौधरी । तर, गत भदौ १० गते बिहान भने उहाँले घरमा फोन गर्न सक्नुभएन । ढिला भएको भन्दै बिहान करिब ८ बजे ‘म अफिस गएँ’ भन्ने सन्देश मात्रै घरमा पठाउनुभयो । सोही दिन बिहान आएको भोटेकोशी नदीको बाढीपछि अरुण घरपरिवारको सम्पर्कमा आउनुभएको छैन । रसुवास्थित लाङटाङ हाइड्रोपावरको इलेक्ट्रिकल इन्जिनियरिङ शाखामा कार्यरत अरुण बाढीपछि सम्पर्कविहीन हुनुभएको हो ।
रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा आएको बाढीपछि छोरा सम्पर्कविहीन हुँदा अरुणका बुबा चिन्ता बहादुर चौधरी दश दिनदेखि छोराको पर्खाइमा हुनुहुन्छ । छोराको खोजीमा उहाँ चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुग्नुभयो । तर, कतै पनि छोराको अवस्था पत्ता लाग्न सकेन । “छोरालाई कतै भेटिन्छ कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँ सम्म सबै ठाउँ खोज्यौँ, चिन्ता बहादुरले भन्नुभयो, तर, भेटिएन । अहिले घर फर्किएको छु, ।”
छोरा सम्पर्कमा आउने आशामा उहाँ पटक–पटक मोबाइल हेर्नुहुन्छ । घरको बाटोतिर पनि आँखा लगाइरहनुहुन्छ । “छोराको फोन आयो कि भनेर पटक–पटक मोबाइल हेर्ने गर्छु, उहाँले भन्नुभयो, घर आउँदैछ कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म आएको छैन ।” एउटै छोरा सम्पर्कविहीन भएपछि चौधरी परिवार चिन्तामा छ । छोराको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । “हे भगवान्, मेरो छोरालाई भेटाइदेऊ,” मलिन अनुहार बनाउँदै चिन्ताबहादुरले भन्नुभयो ।
शुक्रबार सुरुङभित्रबाट जीवित मानिसको उद्धार भएको खबर सुनेपछि भने उहाँमा छोरालाई लिएर आशा पलाएको छ । “सुरुङमा जीवित मान्छे उद्धार भएको सुन्दा मेरो छोरा पनि त्यहीँ सुरुङमा त छैन भन्ने लाग्यो ।” उहाँले भन्नुभयो । छोरा सकुशल फर्किने आशा अझै नटुटेको उहाँ बताउनुहुन्छ । “मैले अझै आश मारेको छैन । छोरा आउँछ कि भन्ने आशा गरिरहेको छु, हातका औँला गन्दै करिब १० दिन पुग्न लागेको बताउँदै उहाँले मधुरो स्वरमा भन्नुभयो, मलाई अझै पनि आशा छ, मेरो छोरा अरुण घर फर्किन्छ, ।”
अरुणसंगै दाङमा ५३ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालया दाङले जनाएको छ । कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दाङका ५३ जना भोटेकोशी बाढीका कारण अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन भएका कुल ५९ जनामध्ये ६ जना पुरुष परिवारको सम्पर्कमा आइसकेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
बाढीमा अझै ४४ जना पुरुष र ९ जना महिला सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पर्कविहीन भएको भन्दै नाम टिपाएका ५९ जनामध्ये ६ जना सम्पर्कमा आएको पीडित परिवारले जानकारी दिएका छन् ।
जिल्ला प्रशासनमा नाम सूचिकृत नभएका तर बाढीमा सम्पर्कविहीन भएका अरु १२ जना पनि परिवारको सम्पर्कमा आएको प्रशासन कार्यालयले जनाएको छ । आफन्त सम्पर्कविहीन भएपछि खोजविनका लागि दाङबाट स्थानीय सरकारका जनप्रतिनिधिसहित पीडित परिवारका सदस्यहरु बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
















































