काठमाडौँ, भदौ १९ गते । बङ्गलादेश सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहायतामा नेपाल सरकारलाई साथ दिदैँ दश लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपियाँ) बराबरको सहयोग गर्ने भएको छ।
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको नेपालस्थित बङ्गलादेशको राजदूतवासले जनाएको छ।
बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरेको पत्र हस्तान्तरण गर्दै उक्त सहयोग गर्ने जानकारी दिनुभएको दूतावासले जनाएको छ।
दुतावासका अनुसार भदौ १० गतेपछिको हिमबाढी घटनापछि प्रधानमन्त्री रहमानले प्रधानमन्त्री शाहलाई शोक सन्देश पठाउँदै विपतमा ज्यान गुमाएकोमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । साथै, नेपाल सरकार र विपतको सामना गरिरहेका नेपाली जनताप्रति बङ्गलादेश सरकारको तर्फबाट पूर्ण ऐक्यबद्धता प्रकट गरिएको छ।
त्यसैगरी, बङ्गलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले नेपालमा भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालको राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउनुभएको छ। नेपालमा भएको विपदप्रति बङ्गलादेशको संसद्ले भदौ ११ गते विपदमा ज्यान गुमाउने तथा बेपत्ता भएकाप्रति गहिरो दुःखसहित समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको दूतावासले जनाएको छ।
















































