कपिलवस्तु, भदौ १९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको थियो ।
अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
थप उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवल पुर्याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा विकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















































